बन्दाबन्दीमै रुप फेरिएको रङ्गशाला

  असार २१, २०७७

तुलसीपुर, असार २१ : तुलसीपुर उपमहानगरपालिका-१७ मा रहेको बेलझुण्डी रङ्गशालाको रुप फेरिएको छ । चारैतिर पर्खालले घेरिएको क्षेत्र बीचमा बनेको फुटबल खेल मैदान, मैदानको छेउ भागमा भीआइपी प्याराफिट, मैदानमा पलाएको हरियो दूबोले आकर्षण थपेको छ ।

घोराही तुलसीपुर सडकखण्डको बेलझुण्डीमा रहेको रङ्गशालामा अचेल खेलाडीभन्दा तस्बिर खिच्नेको भिड नै लाग्ने गर्छ । दुई वर्षअघि कसैको नजर नपुग्ने ठाउँमा अचेल धेरैले भ्रमण गर्न भ्याएका छन् । चार सय ६२ सिट क्षमता रहेको भीआइपी प्याराफिट निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका इन्जिनियर आशकुमार रायले जानकारी दिनुभयो । एथलेक्टिस ट्रयाकसहितको फुटबल मैदानमा भने आठौँ राष्ट्रिय खेलकुदका विभिन्न खेलहरू सम्पन्न भएका थिए ।

चाैबीस करोड २४ लाख ४५ हजार २९३ रुपियाँको लागतमा सेन्थेटिक एथलेक्टिस ट्रयाक, फुटबल मैदान, नाली निर्माण, भीआइपी प्याराफिट, मिडिया घर निर्माण र साधारण प्याराफिट निर्माण भएका हुन् । २०७५ असार ७ गते सम्झौता भई सम्झौताको आठ महिना भित्र निर्माण कम्पनीले काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर राष्ट्रिय खेलकुद प्रतियोगिता, प्रदेश एक्सपोका कारण काममा ढिलाइ भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।

असार महिनाभित्र सम्पूर्ण काम सम्पन्न गरी राष्ट्रिय खेलकुद परिषद्लाई हस्तान्तरण गरिने निर्माण कम्पनी दिवा एमए-प्रतिष्ठा कन्ट्रक्सन जेभी, काठमाडौँका इन्जिनियर आशकुमार रायले जानकारी दिनुभयो । पन्ध्र बिगाह क्षेत्रफल रहेको खेलकुद विकास समितिको जग्गामा गुरुयोजना अनुसार अब फुटबल मैदान र स्वीमिङ पुल निर्माण कार्य बाँकी रहेको कार्यालय प्रमुख शान्ति सोमैले जानकारी दिनुभयो ।

निर्माण गरिएका संरचना हस्तान्तरणपश्चात् विकास समितिले व्यवसायिकरुपमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि समेत शुल्क लिएर उपलब्ध गराउन सकिने कार्यालय प्रमुख सोमैले बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालयले खेलकुद विकास समितिलाई २०४५ सालमा १५ बिघाजग्गा हस्तान्तरण गरेको थियो ।

तपाईको प्रतिक्रिया