काठमाडौँ, असार २१ : तीनदशक बढीको मेलम्ची सपना पूरा हुने अवस्थामा पुगेको छ । खानेपानी मन्त्रालयले लामो प्रतिक्षा, अनेकन अड्चन तथा हण्डर ठक्कर व्योहोरेर आयोजना सम्पन्न हुनै लागेको र आगामी दुई महिनापछि काठमाडौँवासीको धारामा पानी पु¥याउने प्रतिबद्धता जनाएको छ ।
आयोजनाले आजदेखि कूल २६ किलोमिटर लामो सुरुङमा पानी पठाएर परीक्षण शुरु गरेको छ । सुरुङ परीक्षण गर्न कम्तीमा १५ दिन लाग्नेछ । सुरुङभित्र जम्मा भएको पानी विस्तारै बाहिर निकाल्न पनि उत्तिनै समय लाग्नेछ । अर्थात् १५ दिन पानी पठाएजस्तै खाली गर्न पनि उत्तिनै अवधि लाग्नेछ ।
त्यसपछि सात दिन सुरुङभित्रको समग्र अवस्थाका बारेमा अन्तरराष्ट्रिय मापदण्डअनुसार नै प्राविधिक टोलीले निरीक्षण गर्नेछ । सबै अवस्थाको जाँच पड्ताल गरिसकेपछि सुरुङ ठीक रहेको निष्कर्ष निकाल्ने र सुन्दरीजलमा पानी झार्ने तयारीमा मन्त्रालय रहेको छ ।
आगामी भदौको दोस्रो साताभित्र काठमाडौँमा नियमितरुपमा पानी उपलब्ध गराउने गरी आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।