ललितपुर, असार २१ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठक पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल केन्द्रित भएको छ ।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशनको कार्यतालिकाबारेमा छलफलको क्रम जारी रहेको जानकारी महामन्त्री पूर्णबहादुर खड्काले दिनुभयो ।
आगामी फागुनमा केन्द्रीय महाधिवेशन गर्ने पुरानो कार्यतालिका यथावत राखी गाउँदेखि प्रदेश अधिवेशनसम्मको कार्यतालिका परिमार्जन गरिने प्रस्तावमा छलफल भइरहेको छ ।
केन्द्रीय सदस्य बहादुरसिंह लामाका अनुसार, बैठकमा बोल्ने नेताहरूले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने र कोरोना नियन्त्रण, रोकथाम र त्यसबाट अर्थतन्त्रमा परेको प्रभावलाई माथि उठाउन सरकारको कदम पर्याप्त नभएको भन्ने धारणा राख्नुभएको छ ।
बोल्ने वक्ताहरू बाँकी रहेकाले बैठक सोमबार दिनको २ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।