काठमाडौँ, असार १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य परीक्षण गाराउनुभएको छ । उहाँ स्वास्थ्य परीक्षण पूरा गरी आजै निवास फर्कनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित चेकजाँचका लागि बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्र पुग्नुभएको हाे । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार नियमित चेकजाँचका लागि उहाँ अस्पताल जानुभएको हो ।
‘स्वास्थ्यमा त्यस्तो खराबी नआएको तर चिकित्सकको सल्लाह अनुसार उहाँको नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली अस्पताल जानुभएको हो’ सञ्चारविज्ञ बजगाईंले भन्नुभयो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाँले बताउनुभयो । स्थायी कमिटीको नियमित बैठक र सरकारको कामकाजले केही दिनयता प्रधानमन्त्री धेरै व्यस्त रहनुपरेको छ ।