काठमाडौँ, असार १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पार्टी सङ्कटमा भएका बेला नेताहरूको एकताबद्धताले मात्र पार्टी सुदृढ हुनसक्ने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान पार्टीका स्थायी कमिटी सदस्य तथा मन्त्रीहरूलाई बालुवाटारमा बोलाएर छलफल गर्नुभएपछि मन्त्री भट्टराईको यो सुझाव आएको हो । केही पत्रकारसमक्ष बुधबार आफ्नो संक्षिप्त धारणा राख्नुहुँदै मन्त्री भट्टराईले पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले सबैभन्दा बढी पहल अध्यक्ष ओलीले लिनुपर्ने र बाँकी जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य वरिष्ठ नेता र अन्य नेताहरूले लिनुपर्ने सुझाव दिनुभयो ।
“अब पार्टी एकताबाट कोही भाग्न सक्दैन, भागेर कहीँ पुगिँदैन, दुर्घटना मात्र हुन्छ” मन्त्री भट्टराईले भन्नुभयो, “नयाँ जगमा पार्टीलाई एकताबद्ध बनाउनुप-यो, नेताबीच हार्दिकता बढाउनुप-यो । पार्टी र सरकारबीच समन्वयात्मक भावना जागृत गरी सरकारले पार्टीलाई सहयोग गर्नुपर्यो, पार्टीले सरकारको अपनत्व लिनुपर्यो ।” नेतालाई मानसम्मान र प्रतिष्ठा दिँदै अब सकुशल पार्टी युवामा हस्तान्तरण गर्नुपर्ने सुझाव पनि मन्त्री भट्टराईले दिनुभयो । सानातिना समस्या समाधान गर्न नसक्ने हो भने गम्भीर प्रश्न उठ्ने भन्दै आफूले बालुवाटारमा प्रधानमन्त्रीलाई त्यही सुझाव दिएको उहाँले प्रष्ट पार्नुभयो ।
पार्टी र नेताबीच घनिष्ट सम्बन्ध नहुँदासम्म यस्ता समस्या आइराख्ने बताउँदै मन्त्री भट्टराईले भन्नुभयो, “पार्टीमा विश्वास र एकता कायम भयो भने यस्ता झिनामसिना समस्या त्यसै समाप्त भएर जान्छन्, एकताबाहेक अन्त जाने बाटो छैन ।” आउने पुल भत्काइसक्यो, अगाडि जाने बाटो बन्द छ भन्दै उहाँले अगाडि बढ्ने बाटो बनाउँदै जानुको विकल्प नरहेको प्रष्ट पार्नुभयो । “नेताहरूले एकपल्ट आफ्नो इतिहास पढ्नुपर्छ, कुन जगमा कसरी यो अवस्थामा आइपुगियो । त्यसरी गर्दा समस्याको समाधान निस्किन्छ ।” मन्त्री भट्टराईले भन्नुभयो । पार्टी एकता सुदृढ भएर अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।