स्याङ्जा, असार १५ : रुपन्देही र पाल्पामा हुँदै स्याङ्जाको कालीगण्डकीमा देखा परेको सलह आइतबार आएर फर्के पनि सोमबार फेरि सोही ठाउँमा आएको छ । कालीगण्डकी १, २ र ४ का सटुका, खोरबीर, प्युघा, छापडाँडा, बाँस्टारी, गुरुङ्दीमा आइतबार साँझ ठुलो झुण्डमा आएको सलह फर्केर गएपनि सोमबार लाखौँको सङ्ख्यामा आएर खेती बाली खान थालेको हो ।
आइतबार साँझ पाल्पा र गुल्मीबाट तीन झुण्डमा आएको सलहलाई स्थानीयले धुवाँ, मुस्लो थाल, टिन बजाएर सलह धपाएका थिए । आइतबार तीन पटकमा ठूलो झुण्डमा आएर फर्के पनि सोमबार आएर बालीमा पसेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो । पहिलो पटक आएर सलह फर्के पनि दोस्रो पटक आएर एकैपटक खेती बालीमा पसेको थापाले बताउनुभयो ।
उहाँले सलह मारेर एक किलो ल्याउनेलार्य एक सय रुपियाँ दिने आफूले घोषणासमेत गरेको बताउनुभयो । हल्ला भएजस्तो सलह सानो झुण्ड माात्र नभएको बताउदैँ थापाले करौडौँको सङ्ख्यामा रहेको बताउनुभयो ।
सलह पाल्पाको रानीरहतिरबाट आएर कालीगण्डकीमा रहको फलफूल, मकै तरकारीमा पसेर खान लागेको कृषि शाखा प्रमुख यामप्रसाद श्रेष्ठले बताउनुभयो । एकैपटक आएर खेतीबालीमा परेर क्षति गर्न थालेपछि सुरक्षाको समस्या भएको श्रेष्ठले बताउनुभयो ।