वैशाखको रोपो मौलायो, अहिले पनि रोपिँदै

  असार ०८, २०७७

कालीकोट, असार ८ : कालीकोट जिल्लामा मर्सी धान रोपाइँ सुरु भएको छ । कोरोनाको त्रासले केही समयपछि मार्सी रोपाइँ सुरु भएको हो । वैशाख १५ बाटै रोपाइँ सुरु हुने खेतमा यतिबेला रोपाइँ चलिरहेको छ । वैशाखमा तिलागुफा नगरपालिका ९ को चिल्खाया क्षेत्रमा मात्र मार्सी रोपाइँ भएको थियो ।

अहिले त्यहाँ मार्सी बयली खेलिरहेको छ । रास्कोट नगरपालिकाभित्र पनि जेठ १५ बाट रोपाइँ हुने गरेको भए पनि यस वर्ष भने असार लागेसँगै सुरु भएको छ । १५ दिन ढिलो रोपाइँ सुरु भएकाले धान उत्पादनमा केही कमी आउने आशङ्का कृषि शाखाले गरेको छ ।

अहिले वर्षा पनि सुरु भएकाले जोखिम लिएर रोपाइँ सुरु भएको भए पनि उत्पादनमा केही कमी हुने अनुमान गरिएको कृषि प्राविधिक गणेश सञ्ज्यालले बताउनुभयो । नगरको लेकाली भेगमा समयमा रोपाइँ नभएमा धान कम फल्ने सज्यालको अनुमान छ । जिल्ला कृषि ज्ञान केन्द्रका प्राविधिक परशुराम काफ्लले रोपाइँ ढिलो हुँदा उत्पादन कम हुने निश्चित भएको बताउनुभयो ।

लेकाली क्षेत्रमा उत्पादन कम भए पनि बेँसीतिर भने उत्पादनमा केही असर नपर्ने कृषि प्राविधिकको भनाइ छ । बेँसीतिर रोपाइँ सुरु हुने समय यही हो । रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिकामा लेकाली क्षेत्रदेखि बेँसी क्षेत्रमा पनि रोपाइँ हुने गरेको छ ।

तपाईको प्रतिक्रिया