काठमाडौँ, असार ७ : भारतमा युरिया र डीएपी रासायनिक मल रोकिएका कारण नेपालमा मलको हाहाकार देखिएको छ । मनसुन सुरु भएसँगै धान रोपाइँ सुरु भएको छ । धान रोपाइँसँगै मलको माग अत्यधिक बढेको छ तर भारतबाट सम्पूर्ण मल आइनसकेका कारण मलको अभाव देखिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले कोरोना–१९ (कोरोना भाइरस)को रोकथामका लागि लगाइएको बन्दाबन्दीका कारण मल आयातमा समस्या भइरहेको बताउनुभयो । कोलकाता बन्दरगाहबाट ढिलो हुन्छ भनेर गुजरात हुँदै ल्याउन खोजेकामा त्यहाँबाट पनि आउन ढिलाइ भइरहेको उहाँले बताउनुभयो ।
कोलकाता बन्दरगाहमा रहेको ५० हजार मेट्रिक टन मलमध्ये ३० हजार मेट्रिक टन डीएपी मल यसअघि नै आइसकेको जनाइएको छ । त्यसमध्ये केही वितरण पनि भइसकेको छ । बाँकीमध्ये पाँच हजार मेट्रिक टन यही हप्ताभित्र आइपुग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कोलकातामा रहेको सम्पूर्ण मल असार १५ गतेभित्र आइपुग्नेछ ।”
अहिले रोपाइँको समयमा चाहिने डीएपी मल नै हो तर त्यसको खासै अभाव छैन तर युरिया मल सस्तो भएको हुनाले त्यसको माग बढेको छ तर गुजरातमा २१ हजार मेट्रिक टन मल थन्किएपछि यहाँ अलिअलि अभाव देखिएको उहाँले बताउनुभयो ।
गुजरातबाट मल ल्याउने पहल भइरहेको छ, परराष्ट्र मन्त्रालय र भारतमा रहेको नेपाली राजदूतावासमार्फत कुराकानी अगाडि बढेको तैपनि ढिला भइरहेको उहाँले बताउनुभयो । अरू मलका लागि टेन्डर भएर त्यो पनि ल्याउने प्रक्रिया पनि सुरु भएको छ । अहिले प्रक्रिया सुरु भए पनि एक÷डेढ महिनापछि मात्र आइपुग्ने उहाँले बताउनुभयो ।
रासायनिक अनुदान मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गर्दै आएका छन् । यी दुई कम्पनीले ग्लोबल टेन्डरमार्फत मल खरिद गर्छन् । ग्लोबल टेन्डरमार्फत आयात गर्दा पाँचदेखि छ महिना लाग्ने गरेको छ । सरकारले मलको अभाव नहोस् भनेर प्रत्येक वर्ष रासायनिक मलमा अनुदान वृद्धि गर्दै आएको छ तर प्रत्येक साल यो बेला मलको हाहाकार हुँदै आएको छ ।