विपदविरुद्ध प्रतिकार्य योजना जारी

  असार ०७, २०७७

काठमाडौँ, असार ७ : कोरोना भाइरस रोगको महामारीसँंगै बाढी, पहिरो र डुबानलगायत अन्य विपद् नियन्त्रण गर्न गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको शनिबार सम्पन्न बैठकले मनसुन सुरु भएसँगै यसबाट सिर्जित हुने समस्याको समाधान तथा नियन्त्रण गर्न कार्ययोजना जारी गरेको हो ।

कार्ययोजना अब कार्यान्वयनमा जाने मन्त्रालयले जनाएको छ । मुलुक कोरोना महामारीसँग जुधिरहेकै बेला वर्षात्को समय सुरु भएको भन्दै गृहमन्त्री थापाले बाढी, पहिरो र डुबानजस्ता समस्याले थप पिरोल्दै जाने भएकाले आवश्यक सतर्कतासँगै पूर्वतयारी अपनाउन जरुरी रहेको बताउनुभयो ।

“कोरोना र प्राकृतिक विपत्तिविरुद्ध जुध्न जरुरी छ,” उहाँले भन्नुभयो । “आवश्यक सावधानी र तयारीका साथ जोखिम क्षेत्रको पहिचान गरी केन्द्रदेखि स्थानीय तहसम्मले सामूहिक रणनीतिका साथ अगाडि बढेमा जोखिम न्यूनीकरण गर्न सकिन्छ ।”

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना–२०७७ ले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार (सङ्घ, प्रदेश र स्थानीय तह), सुरक्षा निकाय, समुदाय तथा गैरसरकारी सङ्घ, संस्थाको भूमिकाको विषयमा स्पष्ट व्यवस्था गरेको छ ।

सम्भावित विपद्बाट हुन सक्ने जोखिमको न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी अगाडि बढाएको जानकारी दिनुहुँदै मन्त्री थापाले यसका लागि साझा सहयोग र सहकार्यको अपेक्षा गरिएको स्पष्ट गर्नुभयो ।

कार्ययोजनाअनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गरी आवश्यक पूर्वतयारी, सचेतना, उद्धार, विस्थापितको पुनः स्थापना र उपचार व्यवस्थापनलगायतका विषयलाई विशेष प्राथमिकता दिइएको छ । त्यसैगरी, राहत वितरण र सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

तपाईको प्रतिक्रिया