सेवाप्रदायक नै सेवाग्राहीको प्रतीक्षामा

  असार ०६, २०७७

काठमाडौँ, असार ६ : सामान्य अवस्थामा सेवा लिनका लागि सेवाप्रदायकको प्रतीक्षामा लामबद्ध रहने सेवाग्राही दुई सिफ्टमा कार्यालय सञ्चालन भएपछि भने बेग्लै अवस्था देखिएको छ । अहिले सेवाप्रदायक नै सेवाग्राहीको प्रतीक्षामा बस्ने गरेका छन् ।

सरकारले असार १ गतेदेखि सबै सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न थालेको छ तर सार्वजनिक सवारी साधन नचलेको र निजी सवारी साधन पनि जोरबिजोर प्रणाली लागू हुँदा सेवा लिनका लागि सेवाग्राही न्यून मात्र कार्यालयमा पुग्ने गरेका छन् । त्यसमा पनि दुई सिफ्टमा कार्यालय सञ्चालन हुँदा सेवाग्राहीको पातलो मात्र उपस्थिति हुँदै आएको छ ।

सेवाग्राहीको प्रत्यक्ष सम्पर्क रहने मालपोत कार्यालय, कर, राहदानी, लाइसेन्स बनाउने, जिल्ला प्रशासन कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग दर्तालगायतका कार्यालयमा भने अन्य कार्यालयमा भन्दा सेवाग्राहीको केही बाक्लो उपस्थिति रहने गरेको छ । निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनका कोषाध्यक्ष सिन्धु पाण्डेले दुई सिफ्टमा कार्यालय खोल्ने सरकारको निर्णय कार्यान्वयन हुुँदा प्रभावकारी नदेखिएको बताउनुभयो । सेवाग्राही नै कार्यालय आउन नसकेपछि प्रभावकारी नदेखिएको उहाँको तर्क छ ।

उहाँका अनुसार बिहान ८ देखि साँझ ६ बजेसम्म सरकारी कार्यालय खुलेका छन् । सेवाग्राहीको काम सरकारी कार्यालयबाट मात्र नभई निजी क्षेत्रका बैङ्कबाट पनि गर्नुपर्ने हुन्छ तर निजी क्षेत्रका बैङ्क दुई सिफ्टमा नखुल्दा सेवाग्राहीको काममा समस्या भएको छ । उहाँले कर्मचारी दुवै सिफ्टमा सेवाका लागि हाजिर भएका छन् तर सेवाग्राहीलाई कुरेर बस्नुपर्ने अवस्था छ भन्नुभयो ।

कतिपय कार्यालयमा एकै कर्मचारीले दुई सिफ्टमा काम गर्दै आएका छन् तर बिहानदेखि साँझसम्म काम गर्दा ती कर्मचारीलाई अतिरिक्त भत्ताको व्यवस्था नभएको पाण्डेले गुनासो गर्नुभयो । सरकारले दुई सिफ्टमा कार्यालय खुलाउनुको उद्देश्य सेवाग्राहीको काम नरोकियोस् भन्ने हो, उहाँले सेवाग्राही नै आउँदैनन् कर्मचारी बिना काम कार्यालयमा बस्नु परेको छ भन्नुभयो । गत सोमबारदेखि पहिलो सिफ्टमा बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो सिफ्टमा दिउँसो १ देखि साँझ ६ बजेसम्म कार्यालय खुला भइरहेका छन् ।

तपाईको प्रतिक्रिया