मृतक संक्रमितका श्रीमती र दुई छोरामा पनि संक्रमण, अत्तरीय बजार सिल

  असार ०६, २०७७

गोदावरी, असार ६ : कैलालीको गोदावरी नगरपालिका १ मा कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको सम्पर्कमा आएका घरपरिवारका तीन जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा मृतककी ४१ बर्षिय श्रीमती र उनका १६ र २१ बर्षिय छोरामा कोरोना संक्रमण पृष्टि भएको गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउदले बताउनुभयो । यस्तै सोही ठाउँका ५८ बर्षिय छिमेकी पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको गोदावरी नगरपालिकाले जनाएको छ ।

बुधवार राती धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएका ४६ वर्षिय कोरोना संक्रमित ती पुरुषको सम्पर्कमा रहेका घरपरिवारका ५ जनाको स्वाब परीक्षण गर्दा चार जनामा कोरोना पुष्टि भएपछि घर टोलसँगै अत्तरिया बजार सिल गरिएको छ ।

सुदूरपश्चिम चोक अत्तरिया बजार सिल
गोदावरी नगरपालिकाले अत्तरिया उद्योग बाणिज्य संघको आग्रहमा केही दिनका लागि नगरक्षेत्र भित्र रहेका व्यवसाय बन्द गरिदिन अपिल गरेको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउँदद्वारा हस्ताक्षरित अपिलमा बजार खोली भीडभाड गराउँदा नगरबासीहरुकालागि अत्यन्त जोखिमपुर्ण रहेकाले अत्यावश्यक सेवा बाहेक अन्य बजार बन्द गरिदिन नगरबासीमा अपिल गरिएको छ ।

‘हालै मात्र यस नगरपालिका कोरोना संक्रमणले एक जनाको ज्यान लिईसकेको र केही व्यक्तिहरुमा संक्रमण देखिएको सन्दर्भमा बजार खोली मानिसहरुको भीडभाड गराउनु नगरवासीहरुकालागि अत्यन्य जोखिमपुर्ण रहेको उल्लेख गर्दै अपीलमा भनिएको छ ‘सम्पुर्ण नगरबासिहरुले एकदमै सचेत भै सावधानी पूर्वक (कोभिड १९) कोरोना भाईरस सम्बन्धी नेपाल सरकारले जारी गरेका मापदण्ड पालना गरी घरमै बसिदिनहुन अपिल गर्दछु ।’

लकडाउनको ढाँचा परिवर्तन गर्दै सरकारले पसल व्यापार, व्यवसाय र आवागमनमा केही खुुकुलो बनाउने निर्णय बमोजिम यस क्षेत्रका बजार व्यवसाय आशिंक रुपमा संचालन आएको भए पनि पूर्णरुपमा भने सुचारु हुन सकेका थिएनन् । सरकारको उक्त निर्णयपछि अत्तरीया उद्योग बाणिज्य संघले पनि बजार सुचारु गर्न आग्रह गरेको भए पनि पछिल्लो समय नगर क्षेत्रमा कोरोना संक्रमित बढ्न थालेपछि अहिले व्यवसायीहरु पनि केहि दिनका लागि बजार बन्द गर्नुपर्ने पक्षमा उभिएका छन् ।

सुदूरपश्चिमकै केन्द्रकारुपमा रहेको कैलालीको गोदावरी नगरपालकामा शुक्रबारसंम्मको तथ्याङ्क अनुसार ५ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छभने एक जनाको मृत्यु समेत भईसकेको छ । अन्य संक्रमित अहिले उपचारकै क्रममा रहेका छन । गोदावरी नरपालिकामा जेठ २४ गते पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका उहाँ नगरपालिकाका जनप्रतिनिधि रहेको नगरपालिका स्रोतले बताएको छ । उहाँको उपचार नगरपालिकाले निर्माण गरेको आईसोलेसनमै भैइरहेको छ ।

तपाईको प्रतिक्रिया