बैतडी, असार ५ : शुक्रबार बैतडीमा थप ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । असार १ गतेदेखि थपिँदै गएका कोरोना सङ्क्रमितको सङ्ख्या पाँच दिनमै ११५ पुगेको छ ।
बैतडीबाट पीसीआर परीक्षण गर्न पठाएकाहरूको परीक्षण नतिजा आउन थालेपछि असार १ गतेदेखि ५ गतेसम्म कोरोना सङक्रमण पुष्टि हुने दर बढेको हो ।
बैतडीबाट पीसीआर परीक्षणका लागि चार सयभन्दा बढी स्वाब पठाइएकोमा पछिल्लो समय परीक्षणको दायरा बढेपछि सङ्क्रमण पुष्टि हुने दर बढेको छ ।
शुक्रबार पुष्टि भएका ६३ जनामध्ये पञ्चेश्वर गाउँपालिकाका १६, दोगडाकेदार गाउँपालिकाका ११, सिगास गाउँपालिकाका १०, दशरथ चन्द नगरपालिकाका १०, पाटन नगरपालिकाका पाँच र शिवनाथ गाउँपालिकाका ११ गरी कुल ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमण पुष्टि भएका सबै भारतबाट आएका हुन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय, बैतडीले जानकारी दिएको छ ।