गण्डकीमा थप ५८ जनामा कोरोना संक्रमण, कुल ४३८ पुग्यो

  असार ०६, २०७७

पोखरा, असार ६ : गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान प्रकाशित गरेको विज्ञप्तीअनुसार नयाँ संक्रमितसँगै प्रदेशमा कुल संक्रमितको संख्या ४३८ पुगेको छ । नयाँ संक्रमण पुष्टी हुनेमा तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गोरखामा ५, कास्कीमा २, स्याङ्जामा १, म्याग्दीमा १ जना रहेका छन् ।

नयाँ संक्रमण पुष्टी भएका सबै भारतबाट आई स्थानीय तहले स्थापना गरेको क्वारेन्टाइनमा बसेकाहरु रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार तनहुँको ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा २१ जना पुरुष, व्यास नगरपालिकाको क्वारेन्टाइनमा बसेका २ जना पुरुष, सुक्लागण्डकी नगरपालिकाको क्वारेन्टाइनमा बसेका २ जना पुरुष, नवलपरासीको बुलिङटार गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ११ जना पुरुष, मध्यविन्दु नगरपालिकाको क्वारेन्टाइनमा बसेका २ जना पुरुष, बौदीकाली गाउँपालिका, विनयत्रिवेणी गाउँपालिका र देवचुली नगरपालिकाको क्वारेन्टाइनमा बसेका १–१ जना पुरुष रहेका छन् ।

यस्तै बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ७ जना पुरुष र एक जना महिला, गोरखाको भिमसेन नगरपालिकाको क्वारेन्टाइनमा बसेका ५ जना पुरुष, कास्कीको मादी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुष र १९ महिनाको बालिका, स्याङ्जाका १ पुरुष र म्याग्दीको मालिका गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित सबैलाई सम्बन्धीत जिल्लामा स्थापना गरिएको आइसोलेसनमा ल्याउँने तयारी भइरहेको छ । नयाँ संक्रमित थपिएसँगै हालसम्म गण्डकीको नवलपरासी पुर्वमा ११५, स्याङ्जामा ७६ जना, बागलुङमा ७४ जना, तनहुँमा ६८ जना, पर्वतमा ४३, गोरखामा ४१ जना, कास्कीमा १५ जना, म्याग्दीमा ४ जना र लमजुङ र मनाङमा एक १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण भएका ४३८ जना मध्य ३९ जना कोरोना संक्रमण मुक्त भएर घर फर्कीसकेको र एक जनाको मृत्यु भएको छ ।

क्वारेन्टाइनमा बसेर भागेका सङक्रमितको खोजी तीव्र
स्याङ्जा समाचारदाता अर्जुन काफ्लेका अनुसार भारतबाट आएर क्वारेन्टाइनमा बसेर भागेका एक व्यक्ती सङक्रमित भेटिएपछि जिल्ला प्रशासन स्याङ्जाले खोजीलाई तीव्र पारेको छ । आँधीखोला गाउँपालिकाको क्वारेन्टाइनबाट दुई जना भागेकोमा १९ वर्षीय युवकमा बिहीबार कोरोना सङक्रमण भएको पुष्टि भएको थियो ।

जेठ २० गते परिवारसँगै भारतबाट आएका युवाको जेठ २५ गते स्वाब लिइएको थियो । आँधीखोला ५ का १९ वर्षीय युवा ३४ वर्षीय भाउजु, १३ वर्षीय भजितासँगै आएको र सबैमा कोरोना सङक्रमण भेटिएको थियो । स्वाब लिएपछि क्वारेन्टाइनमा बसेका युवा एक साथीसँगै जेठ ३२ गते भागेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

भागेका युवा मध्ये एक जनाको मोबाइलको लोकेसनको आधारमा खोजीलाई तीव्र पारेको क्षेत्रीले बताउनुभयो । कोरोनाका महामारीमा स्याङ्जामा बिहीबार नौ जना कोरोना सङक्रमित थपिएकोका क्वारेन्टाइनमा बसेर भागेका युवाको पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया