काठमाडौँ, असार ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले तीन तहको सरकारले कोरोना रोकथाममा निकै सक्रिय भएर काम गरिरहेको बताउनुभएको छ । जनप्रतिनिधीहरूले आफूले सकेको हिसाबले काम गरिरहनुभएको प्रधानमन्त्री ओलीले बताउनुभएको हो । उहाँले आफूमात्रै ठिक अरु सबै भष्ट्र भनेर भन्नु नमिल्ने बताउनुभयो ।
राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जनप्रतिनिधि काममा लागेका छन्, त्यता कसैको पनि ध्यान छैन, गरेको कामको प्रशंसा छैन । तर दैनिक हिसाबकिताब चाहियो भनेर हल्ला भइरहेको छ ।’ उहाँले नेपाली जनताको रोग प्रतिरोधी क्षमता बढिरहेको बताउनुभयो । हाम्रो प्रतिरोधी क्षमता र प्रभावकारी उपचार विधिका कारण नेपालमा कोरोना भाइरसबाट धेरै मानिसको मृत्यु नभएको दाबी गर्नुभयो ।
देशलाइ परेका बेला सबै नेपाली एक ठाउँमा हुन्छन् भन्ने प्रमाणित भएकाे बताउँदै राष्ट्रियसभाले सर्वसम्मत संविधान संशाेधन पारित गरेकाेमा प्रधानमन्त्री ओलीले धन्यवाद पनि दिनुभयाे ।