बाजुरामा थप ४१ जनामा कोरोना पुष्टि

  असार ०५, २०७७

बाजुरा, असार ४ : बाजुराको बडिमालिका नगरपालिकाको मालिका मावि, बाजुरा क्पाम्पस र जिल्ला स्वास्थ्य कार्यालयको क्वारेन्टाइनमा बस्दैआएका ४१ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका आरडीटी पोजिटिभ, कोभिड १९ का शङ्कास्पद बिरामी तथा पीसीआर र आरडीटी पोजिटिभको सम्पर्कमा आएका व्यक्तिहरूको गत जेठ २२ र ३१ गते स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाएको थियो ।

स्वाब सङ्कलन गरी पठाएको दुई हप्तापछि बडिमालिका नगरपालिकाकै ४० जनाकोे रिपोर्टमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय, बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उनीहरू सबै जेठ ९ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।’ त्यसैगरी, बुढीगङ्गा नगरपालिकामा थप एक जना महिलामा पनि कोरोना पुष्टि भएको छ । यसभन्दा पहिला बुढीगङ्गा नगरपालिकाको धुरालसैन माविको क्वारेन्टाइनमा रहेका १९ र त्रिवेणी नगरपालिकाका एकजना गरी २० जनामा कोरोना पुष्टि भएको थियो ।

योसँगै बाजुरामा कोरोना सङ्क्रमितको सङ्ख्या ६१ पुगेको अधिकृत पन्तले बताउनुभयो । बुढीगङ्गा नगरपालिकाको –१ की दुई वर्षीया बालिकाको गत जेठ १९ गते कोरोनाकाले मृत्यु भएको र अन्य सबैको स्वास्थ्यमा भने सामान्य रहेको पन्तले बताउनुभयो ।

पीसीआर रिपोर्टमा पोजिटिभ देखिएकाहरूलाई सम्बन्धित पालिकाले निर्माण गर्दैआएकाे क्वारेन्टाइनमै आइसोलेसन र घरमा गएकाहरूलाई होम आइसोलेसन व्यवस्थित गरी बसाल्ने र उनीहरूको स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मीलाई घरमा नै परिचालन गरिने भएको छ ।

तपाईको प्रतिक्रिया