टिपर दुर्घटनामा एक चिनियाँको मृत्यु, इञ्जिनियर घाइते

  असार ०४, २०७७

लमजुङ, असार ४ : लमजुङमा ढुङ्गाले लागेर एक चिनियाँ नागरिकको मृत्यु भएको छ । न्यादी जलविद्युत आयोजनामा कार्यरत ३४ वर्षीय टिप्पर चालक लु च्याङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालकसँग आयोजनाको ड्यामसाइड जाँदै गरेका ३० वर्षीय इन्जिनियर वु पाउ सी घाइते भएका छन् ।

बिहीबार बिहान साँढे ६ बजे ठूलीबेँसीस्थित पावरहाउसबाट नाइँचेनजिकै रहेको ड्यामसाइडमा निर्माण सामग्री लिएर जाने क्रममा बा २ क ७१९८ नम्बरको टिप्परको अघिल्लो भागमा माथिबाट ठूलो ढुङ्गा लागेको थियो ।

ढुङ्गाले टिप्परको अगाडिको भागमा क्षति पुर्याउँदा चालक लु च्याङ गम्भीर घाइते हुनुभएकाे थियाे । उपचारका लागि लमजुङको बेँसीसहरस्थित लमजुङ मोडल हस्पिटलमा ल्याइपुर्याउँदा बिहान साढे ८ बजे चिकित्सकले मृत्त घोषणा गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार सामान्य घाइते उ पाउ सीको अस्पतालमा सामान्य उपचारपछि फर्किएका छन् ।

चिनियाँ नागरिक दुवै जना आयोजनाको निर्माण कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेशन कम्पनी लिमिटेका हुन् । आयोजनाका प्रशासकीय अधिकृत बासुदेव गड्तौलाका अनुसार दुवै जना आयोजनाको निर्माणाधीन ड्यामसाइड सामग्री लिएर जाँदैगर्दा दुर्घटनामा परेको हो । दुर्घटनापछि तत्काल उद्धार गरेर अस्पतालमा ल्याइए पनि गम्भीर घाइतेलाई बचाउन नसकिएको बताउनुभयो ।

न्यादी जलविद्युत आयोजनाको उक्त सडकमाथि सुपर न्यादी जलविद्युत आयोजनाले सडक निर्माण गरिरहेकाले माथिबाट ढुङ्गा झरेर टिप्परमा लागेको हुन सक्ने आयोजनाका अधिकारीहरूले बताएका छन् ।

दुर्घटनामा मृत्यु भएका चालक लु च्याङको शव बिहीबार दिउँसो साढे २ बजेतिर हेलिकप्टरमार्फत पोष्टमार्टमका लागि शिक्षण अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । बिहान साढे ११ बजेतिर अवतरण भएको हेलिकप्टरबाट तीन घण्टापछि शव लगिएको थियो । मृतकका आफन्त काठमाडौँ आउने र शवलाई काठमाडौँ ल्याउन आग्रह गरेपछि जिल्लामा पोष्टमार्टम नगरी काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

मर्स्याङ्दी गाउँपालिका वडा नंं ६ बाहुनडाँडा र ७ भुलभुलेबीच भएर बग्ने ङादीखोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य ९० प्रतिशत सकिएको छ ।

तपाईको प्रतिक्रिया