भैरहवा, असार ३ : रुपन्देहीको बेलहिया नाका भएर ओहोरदोहोर गर्ने यात्रुको सङ्ख्या लगातार घट्न थालेको छ । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने दुवैतर्फ यात्रुको सङ्ख्या कमी आएको हो ।
इलाका प्रहरी कार्यालय, बेलहियाका अनुसार बुधबार ३१९ नेपाली भारतबाट नेपाल भित्रिएका छन् भने ३७१ जना नेपालबाट भारत प्रवेश गरेका छन् । कोरोना महामारीका कारण भएको लकडाउनले भारतमा कामविहीन बनेका नेपालीहरू फर्कने क्रम केही दिनयता कमी आएको बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार नेपाल आएका नेपालीमध्ये अधिकांश आआफ्नो जिल्लामा पुगेर सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरेका क्वारेन्टाइनमा बसेका छन् भने कतिपयलाई होम क्वारेन्टाइनमा पनि पठाउने गरिएको छ । क्वारेन्टाइनमा बसेकाहरूलाई आरडीटी र पीसीआर परीक्षण गरी घर पठाउने गरिएको छ ।
बेलहिया प्रहरीका अनुसार यो नाकाबाट भित्रिएका अधिकांश रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, स्याङ्जा, कपिलवस्तु, पोखरा, बाग्लुङलगायत जिल्लाका रहेका छन् । बेलहिया नाका भएर भित्रिएका सबैलाई सम्बन्धित पालिकाको समन्वयमा दैनिकजसो गन्तव्यमा पठाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरू रेल तथा सार्वजनिक बसका माध्यमबाट सुनौली नाकासम्म आउने गरेको र आपसी समन्वयमा नेपाल ल्याउने गरिएको प्रहरीको भनाइ छ ।