धनगढी, जेठ ३१ : सुरक्षाको दृष्टिकोणले संवेदनशील सूचीमा रहेको कैलालीमा थप पाँच वटा सीमा सुरक्षा चौकी (बीओपी) स्थापना गरिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था अझै मजबुत बनाउने उद्देश्यका साथ सशस्त्र प्रहरी बलको बीओपी स्थापना गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिकाको बङ्गरा कटान र जुगेडा, कैलारी गाउँपालिकाको खोनपुरमा बीओपी स्थापना गरिएको छ । यसैगरी, भजनी नगरपालिकाको हिम्मतपुर र टीकापुर नगरपालिकाको श्रीलङ्का टापुमा पनि बीओपी स्थापना गरिएको छ ।
योसँगै कैलालीमा बीओपी सङ्ख्या नौ वटा पुगेको छ । १०१ खुल्ला सिमाना रहेको यो जिल्लामा यसअघि मुख्य–मुख्य ठाउँमा गरी जम्मा चार वटा मात्रै बीओपी रहेको थियो । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार चालू आर्थिक वर्षमा छ वटा बीओपी निर्माण गरिएको हो ।
यसअघि, कैलारी गाउँपालिका–७ को भुईयाँफाँटामा गत पुसमै बीओपी स्थापना गरिएको थियो । पाँच वटा भने बन्दाबन्दीको क्रममा स्थापना गरिएको जनाइएको छ । यस्तै, विगतमा धनगढी, फूलबारी, भजनी र टीकापुर गरी चार वटामात्रै बीओपी रहेको थियो । सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी, निकासी–पैठारी नियन्त्रण गर्ने उद्देश्यका साथ बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बाहिनी मुख्यालयका बाहिनीपति प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथोकीले बताउनुभयो ।
उहाँले व्यवसायिक ढङ्गले कार्यक्षेत्रमा खट्न सुरक्षाकर्मीलाई निर्देशन दिँदै भन्नुभयो–‘अहिलेको विषम परिस्थितिमा राज्य र जनताको सेवा, सुरक्षाको लागि ठूलो जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’ कोरोना भाइरसको महामारी रोकथामका लागि हाल सिमानामा आवतजावतसमेत बन्द गरिएको छ । सीमा नाकामा अस्थायी पोष्ट स्थापना गरेरसमेत सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।