सबै सङक्रमित निको भएपछि हट स्पट बनेको नरैनापुर कोरोनामुक्त

  जेठ ३१, २०७७

नेपालगञ्ज, जेठ ३० : केही दिनअघि कोरोनाको हट स्पट बनेको बाँकेको नरैनापुर गाउँपालिकाका सबै सङ्क्रमित निको भएर घर फर्किएका छन् । सबै सङ्क्रमित निको भएर घर फर्किएपछि पालिका कोरोनामुक्त बनेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार नरैनापुर गाउँपालिकामा सङ्क्रमित भएका ११८ जनामध्ये एक जनाको मृत्यु भएको थियो भने बाँकी सङ्क्रमित देखिएका सबै ११७ जना निको भएर घर फर्किएका छन् ।

गाउँपालिकाका सबै सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोनाले समस्याग्रस्त बनेको गाउँहरूमा अहिले खुसियाली छाएको छ । सङ्क्रमित युवा निको भएर गाउँमा फर्कँदा भने स्थानीयमा नयाँ उत्साह थपिएको गाउँपालिकाले जनाएको छ ।

भारतको मुम्बईबाट धेरै नागरिक गाउँ फर्किएपछि त्यहाँ कोरोनाको कहर शुरु भएको थियो । भारतको महाराष्ट्रमा पुगेका धेरैजना नेपाली युवा घर फर्किएपछि उनीहरुमा सङ्क्रमण पुष्टि भएपछि नरैनापुर कोरोनाको हट स्पट बनेको थियो ।

राज्यको सबै शक्ति नेपालगञ्जको मुख्य नाकामा केन्द्रित भएका बेला नरैनापुुर क्षेत्रका बासिन्दाले नरैनापुरको छोटी नाकाबाट भित्रिन सहज मानेर भित्रिएका थिए । सो नाकाबाट धेरैजना भित्रिएपछि बाँके प्रहरीले राति गस्तीसमेत बढाएर भारतबाट आउनेलाई चोरी नाकाबाट आउन नदिने रणनीति बनाएको थियो ।

तर, ‘आँगन’ नै दशगजा रहेको यो पालिकाको धेरै गाउँबाट मानिसहरू प्रवेश गर्न त्यति समस्या छैन । धेरै गाउँहरू पारि भारतीय गाउँ, वारि नेपाली गाउँ छन् । बीचको आँगनले देश छुट्याएको छ । त्यसमा भारतीय प्रहरीले सहजै आउन दिएपछि नेपालीलाई घर फर्किन सजिलो भएको थियो ।
गाउँपालिकाले लुकीछिपी गाउँमा कोही नबसून्, पहिला क्वारेन्टाइनमा बसून् भन्ने नीति लिएर भारतबाट आएकालाई भ्याएसम्म क्वारेन्टाइनमा राखेको गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो ।

उहाँले अहिले सबै सङ्क्रमित घर फर्किसकेपछि निकै राहत महसुस भएको जनाउनुभयो । अझै पनि भारतबाट केही मानिसहरू आउने क्रम रहेकाले सचेत रहेको उहाँको भनाइ छ । जिल्लाको पूर्वी दक्षिणी क्षेत्रबाट ठूलो सङ्ख्यामा मानिस भारतमा रोजीरोटीका लागि पुग्ने गर्दछन् । सीमावर्ति क्षेत्र भएकोले सो क्षेत्रका अधिकांशको कारोबार भारतीय बजारमा नै हुने गरेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बाँके जिल्लामा हालसम्म २९६ जना सङ्क्रमित फेला परेकोमा एक जनाको मृत्यु भएको थियो भने १९६ जना निको भएर घर फर्किसकेका छन् । अब ९९ जना मात्र विभिन्न आइसोलेसनमा रहेका छन् । क्वारेन्टाइनमा रहेकाहरूको पनि सङ्ख्या दिनानुदिन घट्दैगएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया