भूमिगत सिँचाइबाट धमाधम रोपाइँ

  जेठ ३१, २०७७

लम्की, जेठ ३१ : आकाशे पानीको भर पर्नुपर्ने कैलालीमा रोपाइँको चटारो सुरु भएको छ । पूर्वी कैलालीमा रानीजमरा कुलरिया नहरले केही क्षेत्रमा सिँचाइ सुविधा भए पनि जिल्लाको अधिकांश भाग आकाशे पानीको भरमा सिँचाइ हुने गर्छ । त्यसैले किसानले आकाशे पानीको भर पर्नुभन्दा भूमिगत सिँचाइका माध्यमबाट सिँचाइ गर्न थालेका छन् ।

लकडाउनका बेला विद्यालय बन्द भएपछि घोडाघोडी नगरपालिका–४, सुन्दरपुरका शिक्षक रामप्रसाद सापकोटाले भूमिगत सिँचाइबाट आफूले रोपाइँ गर्न थालेको सुनाउनुभयो । थोरै खेत भएका किसानले पानी मोटर चलाएर पनि रोपाइँ गरेका छन् भने धेरै खेती गर्नेहरू आफ्नै लगानीमा खेतमा बोरिङ गाडेर रोपाइँ सक्ने तर्खरमा छन् । भजनी नगरपालिका–१ का कृषक हेमेन्द्र भारद्वाजले १२ बिघा आफ्नो जमिनमा चारवटा बोरिङ गरेर रोपाइँ धमाधम गरिरहेको बताउनुभयो ।

उहाँले भजनीमा चैतेधान भित्र्याउने चटारोसँगै रोप्ने चटारो पनि रहेको बताउनुभयो । सिँचाइ सुविधा नभएका किसानले समेत छिमेकीको बोरिङबाट पानी ल्याई असार १५ भित्र रोपाइँ सक्नेगरी रोपाइँ भइरहेको जानकारी दिनुभयो । किसानलाई सिँचाइका लागि विभिन्न निकायले कुलो, डिप ट्युबवेल, स्यालो ट्युबवेल, सौर्य सिँचाइमा सहयोग गरेसँगै कैलालीका किसानले समयमै धानखेती लगाउन सहज भएको हो । कृषि ज्ञान केन्द्र महेन्द्रनगरले कैलालीमा कुल खेती गर्ने जमिन ९० हजार हेक्टर क्षेत्रफल रहेको जनाएको छ । केन्द्रका प्रमुख रामचन्द्र भट्टले कैलालीमा जम्मा खेती गर्ने जमिनको ७०.२ प्रतिशत जमिनमा सिँचाइ सुविधा भएको बताउनुभयो ।

उहाँले चालू आर्थिक वर्षमा ज्ञान केन्द्रले समेत कैलाली र कञ्चनपुरका पाँच सयवटा समूहलाई साना सिँचाइ आयोजनाका लागि सहयोग गरेको बताउँदै ७० प्रतिशत कैलालीका समूहले उक्त सहयोग पाउनुका साथै आठवटा सौर्य सिँचाइको व्यवस्थासमेत गरेको बताउनुभयो । केन्द्रका प्रमुख भट्टले पहाडी क्षेत्र कैलालीका चुरे र मोहन्याल गाउँपालिकालगायत तराईका केही उच्च क्षेत्र अझै पनि मौसमी सिँचाइमा भर पर्नुपर्ने रहेको बताउँदै अझै पनि ३० प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न
नसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया