काठमाडौँ, जेठ ३० : देशका मुख्य सहरहरुमा सरकारविरोधी आन्दोलन हुन थालेका बेला कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिका तर्फबाट एक विज्ञप्ति जारी गर्दै यसका संयोजक उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले कोरोना संक्रमणको उच्च जोखिम रहेकोप्रति गम्भीर र संवेदनशील हुन आग्रह गरेका छन् ।
पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा विभिन्न मागसहित भइरहेको सडक आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संवेदनशील हुन आग्रह गरेका हुन् ।
उनले कोरोना संक्रमण पछिल्लो समयमा बढ्दै गइरहेकोले विभिन्न क्षेत्रबाट प्राप्त सुझावका आधारमा यसविरुद्धको योजना थप प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै पीसीआर परीक्षणको दायरा बढाउँदै लगिएको पनि उल्लेख गरेका छन् । विज्ञप्तिमा एक महिनायता विदेशबाट भित्रिने नेपालीको संख्या ह्वात्तै बढेकाले क्वारेन्टाइनको व्यवस्थापनमा समस्या भएको पनि बताइएको छ ।
सरकारले कोरोना नियन्त्रणमा गरेको खर्च अपारदर्शी भएको भन्दै आलोचना भइरहेकोप्रति उपप्रधानमन्त्री पोखरेलले सरकारबाट समग्र फाँटवारी छिट्टै सार्वजनिक हुने जानकारी दिएका छन् ।
‘विभिन्न मागहरु राखी भइरहेका सार्वजनिक गतिविधिहरुप्रति नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) निर्देशक समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, आफ्ना मागहरु राखि शान्तिपूर्ण रुपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भए पनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको र हामीहरु कोरोनाको उच्च जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन विशेष आग्रह गर्न चाहन्छौं ।’
समितिले लकडाउनलाई क्रमश: खुकुलो बनाउँदै जनजीवनलाई सहज अवस्थामा फर्काउने निर्णय भइसकेको अवस्थामा सामाजिक दुरीलाई कायम राख्नु र संक्रमण जोखिमलाई नियन्त्रण गर्न सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गरेको छ । त्यस्तै थोरै असावधानीले संक्रमणले भयावह महामारीको रुप लिन सक्ने खतराप्रति सजग हुन पनि आह्वान गरिएको छ ।
यस्तै, उपप्रधानमन्त्री पोखरेलले शनिबार संसदबाट लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नेपालको नयाँ नक्सालाई नेपालको निसान छापमा प्रतिबिम्वित गर्ने संविधान संशोधन हुन गइरहेको भन्दै एकजुट भइ यसको स्वागत गर्न पनि सबैलाई आग्रह गरेका छन् ।