पशुपतिनगर(इलाम), जेठ ३० : इलामको १५ हजार हेक्टर क्षेत्रफलको मकैबालीमा फौजी कीराले क्षति गरेको छ । दुई साताको अवधिमा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा लगाइएको मकैबालीमध्ये १५ हजार हेक्टर क्षेत्रफलको मकैबाली फौजी कीराले नष्ट गरेको हो ।
दिनमा भन्दा रातमा सक्रिय हुने फौजी कीराले मकैको गुबो नै खाएपछि जिल्लाका सयौँ किसान समस्यामा परेका छन् । इलामको देउमाई नगरपालिका, इलाम नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र माईजोगमाई गाउँपालिकाका किसानले लगाएको मकैबाली फौजी कीराले सखाप बनाएको छ ।
माईजोगमाई गाउँपालिका सोयाङका किसान गोविन्द सञ्जेलले फौजी कीराले गाउँभरको मकै सखाप बनाएको बताउनुभयो । मकैबाली भित्राएर धान रोप्दैआएका किसान मकै भित्र्याउन नपाएपछि चिन्तित छन् । सञ्जेलले भन्नु भयो ‘कोरोनाको महामारीमा मकै भित्र्याउदा किसानले खाद्य सङ्कट टर्ने आस गरेका थिए, मकै कीराले नै सकिदियो ।’
माई नगरपालिकाका तेजबादुर घिमिरेको ३० रोपनी क्षेत्रफलमा रोपिएको मकैको अहिले नाम निसाना छैन । फौजी कीराले हजारौँ हेक्टर क्षेत्रफलको मकैबाली नष्ट पारिदिएपछि किसानको लगानी त्यसै खेर गएको छ । फौजी कीराले मकैको गुगोमा आक्रमण गरेपछि बोट नै पहेलिने र घोगा नलाग्ने कृषि ज्ञान केन्द्र इलामका प्रमुख शालिकराम भट्टराईले जानकारी दिनुभयो ।
ज्ञानकेन्द्रले बाली संरक्षण प्रयोगशालाबाट विषादी ल्याएर किसानलाई निःशुल्क वितरण गरे पनि फौजीको आक्रमण नियन्त्रणमा आउन सकेको छैन ।
ज्ञान केन्द्रका अनुसार इलाममा ३२ हजार हेक्टर क्षेत्रफलमा खेती गरिएको मकै खेतीमध्ये १५ हजार हेक्टर क्षेत्रफलमा लगाइएको मकैबालीमा फौजी कीराको प्रकोपले क्षति गरेको ज्ञान केन्द्रका प्रमुख भट्टराईले जानकारी दिनुभयो । फौजी कीरा दिनभर माटोमुनि बस्ने र राती मकैको बोटमा बसरे खाने भएकाले विषादी लगाउँदा ध्यान दिनुपर्ने कार्यालयले जनाएको छ । कृषि ज्ञान केन्द्रकी बागबानी अधिकृत मिना बस्नेतले सकेसम्म विषादी साँझपख लगाउनुपर्ने बताउनुभयो ।
फौजी कीरा नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम जिल्ला भर गर्दैआएको कृषि ज्ञान केन्द्रले जनाएको छ । फौजी कीराको नियन्त्रणका लागि कृषि ज्ञान केन्द्रले बाली संरक्षण प्रयोगशाला विराटनगरबाट विषादी ल्याएर किसानलाई निःशुल्क वितरण गरिरहेको छ । स्थानीय तहका कृषि प्राविधिकहरूमार्फत रोङ गाउँपालिका, माई नगरपालिका र इलाम नगरपालिकामा किसानलाई विषादी वितरण गरिसकेको छ ।