डोटी, जेठ ३० : डोटीको दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीको काठमाण्डौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्ना गरिएकाे छ । पारिवारिक स्रोतका अनुसार उहाँकाे स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । मलासीलाई श्वास प्रश्वासमा समस्या देखिएपछि नेपाली सेनाको स्काइ ट्रकमार्फत थप उपचारका लागि आज काठमाण्डौँ लगिएको हो ।
भारतबाट घर फर्केकाहरूका लागि क्वरेन्टाइन व्यवस्थापनमा खटिँदै आउनुभएकी नगरप्रमुख मलासीलाइ एक हप्ताअघिदेखि श्वासप्रश्वासमा समस्या आएको आफन्तले बताएका छन् ।
उहाँको केही पहिले गरिएको आरडीटी परीक्षणमा नेगेटिभ आएको र हालै पीसीआरका लागि स्वाब लिइएको भए पनि रिपोर्ट आइनसकेको परिवार स्रोतले जनाएको छ ।
नगरप्रमुख मलासीका स्वकीय सचिव रवीन्द्र जोशीले भन्नुभयो, ‘केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि धनगढीमा उपचार गरी डाक्टरको सल्लाह अनुसार घरमा आराम गरिरहनुभएको थियो, बिहीबार राति एकाएक श्वासप्रश्वासमा निकै समस्या आएपछि काठमाण्डौँ लगिएको हो ।’
श्वासप्रश्वासमा समस्या आएपछि केही दिनअघि उहाँलाई कैलालीको धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचार गरेर ल्याइएको थियो । नगरप्रमुख मलासीले लामो समयदेखि उच्च रक्तचापको औषधी सेवन गर्दै आउनुभएको उहाँका श्रीमान कृष्ण मलासीले जानकारी दिनुभयो ।