काठमाडौँ, जेठ २९ : प्रतिनिधि सभाले विनियोजन विधेयक पारित गरेको छ । कोरोना भाइरस रोगका कारण बैठकलाई सङ्क्षिप्त बनाएर यो वर्ष केही छिटो नै विधेयक पारित भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयक पारितका लागि राख्नुभएको प्रस्ताव बैठकको बहुमतले पारित गरेको हो ।
विनियोजन विधेयक पारित भएपछि बजेट आश्रित अन्य तीन विधेयक भने विचाराधीन नै छन् । सदनले असार मसान्तसम्म बजेट पारित गर्न पाउने सुविधा रहन्छ । विनियोजन विधेयक पारितपछि सरकारले राज्यकोषबाट हुने आवश्यक खर्च तथा अख्तियार दिन पाउने छ ।
नयाँ आर्थिक वर्ष प्रारम्भ भएसँगै बजेट कार्यान्वयन प्रारम्भ हुनेछ । विनियोजन विधेयक पारितअघि सदनमा २६ सांसदले दर्ता गर्नुभएको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए ।
छानबिन समिति बनाउनुस् : अर्थमन्त्री
यस्तै प्रतिनिधि सभामा बजेट आश्रित अन्य तीन विधेयक संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन गरिएको छ । अर्थमन्त्री डा. खतिवडाको प्रस्तावमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन भएका हुन् ।
अनुमोदनअघि सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले अर्थमन्त्रीले निश्चित व्यावसायिक घरानाका लागि काम गरेको आरोप लगाउनुभयो । यस्तै करको दर बढाइएका केही विषयमा पनि आपत्ति जनाउनुभएको थियो ।
तर, जवाफमा अर्थमन्त्री खतिवडाले राजनीतिमा इमानदारी प्रदर्शन गर्न पाउने कि नपाउने प्रश्न गर्नुभयो । समिति बनाएर जाँच गर्न पनि माग गर्नुहुँदै उहाँले अर्थ मन्त्रालयबाट करका कुनै पनि सूचना नचुहाएको दाबी गर्नुभयो । करको सूचना चुहाएको भन्ने आधारहीन भ्रम नफैलाउन पनि उहाँले सांसदहरूलाई आग्रह गर्नुभयो । कुनै पनि व्यावसायिक घरानासँग जोडेर भ्रम नफैलाउन पनि उहाँको भनाइ छ ।
यसैबीच प्रतिनिधि सभाले मधेस समता पार्टीका तर्फबाट संविधान सदस्य रहनुभएका मेघराज नेपाली (निषाद)को निधनमा शोक प्रस्ताव पारित गरेको छ । पूर्व राज्यमन्त्रीसमेत रहनुभएका नेपालीको मङ्गलबार निधन भएको थियो । उहाँ मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध हुनुहुन्थ्यो ।