सुनौलीमा मृत्यु भएका युवकको भारतमै कोरोना परीक्षण हुँदै

  जेठ २८, २०७७

भैरहवा, जेठ २८ : नेपाल आउने क्रममा सुनौलीमा ज्यान गुमाएका नेपाली युवकको कोरोना परीक्षण भारतमै हुने भएको छ । सीमा नाका पारिपट्टी सुनौलीमा मृत्यु भएकाले कोरोना परीक्षण भारतमै हुने भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।

नेपाल आउँदै गरेका पश्चिम नवलपरासीका ३५ वर्षिय पुरुषको बुधबार बिहान सुनौलीमा मृत्यु भएको थियो । उहाँको स्वाव परीक्षणका लागि भारतीय पक्षले प्रयोगशाला लगिसकेको र रिपोर्ट आइसकेपछि शव ल्याएर व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो ।

भारतको मुम्बईबाट घर आउने क्रममा सुनौलीमा अचानक विरामी परेपछि ती नेपालीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार मृत्यु हुने नवलपरासी पश्चिमको सुस्ता गाउंपालिका (साविकको कुडिया गाविस– ७) का ३५ वर्षका पुरुष हुनुहुन्छ । तीन दिनअघि भारतको मुम्बईबाट पाल्पाका तीनजना साथीसहित बसमा हिंड्नुभएका उहाँ विहान ४ बजेतिर सुनौली आइपुग्नुभएको थियो ।

सुनौली बजारमा बस्नुभएका उहाँलाई विहान वान्ता भएको र पछि मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वरी अधिकारीले बताउनुभयो । ‘नवलपरासी कुडिया ७ ठेगाना भएका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो’–अधिकारीले भन्नुभयो । मृत्युको कारण भने खुलिनसकेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया