ऐतिहासिक क्रिकेट खेल्न वेष्टइन्डिज टोली इंग्ल्याण्डमा

  जेठ २७, २०७७

काठमाडौं, जेठ २७ : वेष्टइन्डिज क्रिकेट टोली मंगलबार इंग्ल्याण्डको म्यान्चेष्टर पुगेको छ । गत् मार्च महिनामा लकडाउन सुरु भएपछि इंग्ल्याण्डको भूमीमा आइपुग्ने वेष्टइन्डिज पहिलो खेलकूद टोली हो ।

इंग्ल्याण्ड क्रिकेट टोलीसँग वेष्टइन्डिजले तीन म्याचको टेष्ट श्रृखंला खेल्नेछ । जुन ४ तारेखदेखि नै सुरु हुने निर्धारण गरिएपनि अब भने पहिलो टेष्ट म्याच जुलाइ ८ मा सुरु हुने गरी तय गरिएको छ ।
३९ सदस्य सम्मिलित टोलीमा २५ जना खेलाडी रहेका छन् । एन्टिगुआबाट म्यान्चेष्टरका लागि चार्टर विमान बस्नुअघि कोरोना परीक्षण गरिएको छ । सबै खेलाडी कोरोनामुक्त छन् ।

एमिरेट्सस्थित ओल्ड ट्राफोर्ड पुग्ने बित्तिकै सबै खेलाडीको पुर्नपरीक्षण गरिनेछ । ओल्ड ट्राफोर्डमा क्रिकेट टोलीले तीन साता बिताउनेछ । लगत्तै पहिलो टेष्ट खेल्न क्रिकेट टोली साउथम्पटन प्रस्थान गर्नेछ ।

वेष्टइन्डिज क्रिकेट टोलीका कप्तान जैसन होल्डरले खेलकूद जगत्मा यो सबैभन्दा महत्वपूर्ण पाइला हुने प्रतिक्रिया दिनुभएको छ । बन्द रङ्शालामा १३ मार्चमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई पाँच म्याचको एकदिवसीय श्रृखंलामा ३–१ ले हराए यता यो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट हुनेछ ।

तपाईको प्रतिक्रिया