भरतपुरमा कोरोनाबाट मृत्यु भएकाको देवघाटमा दाहसंस्कार

  जेठ २७, २०७७

चितवन, जेठ २७ : कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका भरतपुर – ११ का ६८ वर्षीय पुरुषको देवघाट नजिकै बागेश्वरी जंगलमा दाहसंस्कार गरिएको छ । नेपाली सेनाको भरतपुरस्थित कालिबहादुर गणबाट खटिएको सेनाको टोलीले शव व्यवस्थापन गरेको हो ।

परिवारजनको उपस्थितिमा जातीय परम्परा अनुसार खाल्डो खनी गाडेर शवको व्यवस्थापन गरिएको जनाईएको छ । कोरोना सङ्क्रमणको जोखिम हुने भएकाले स्वास्थ्य सुरक्षा सतर्कताका लागि शव व्यवस्थापनको जिम्मेवारी सेनालाई दिइएको हो ।

मुटु रोगका कारण पीडित भएका पुरुष शुक्रबार नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार गर्न आउनु भएको थियो । अस्पतालले शंका लागेर कोरोना परीक्षण गर्न पठाएपछि सोमबार मात्रै उहाँलाई कोरोना लागेको पुष्टि भएको थियो । मुटु सम्बन्धी समस्या भएर आइसीयुमा राखेर उपचार गराइराखेका विरामीलाई नारायणी सामुदायिक अस्पतालले साँझ भरतपुर अस्पतालमा जबरजस्ती विरामी पठाएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिनुभयो ।

नारायणी सामुदायिक अस्पतालका निर्देशक डा. भक्तमान श्रेष्ठले कोरोना लागेपछि सरकारी अस्पतालमा पठाउनु पर्ने नियम भएको कारण पठाएको बताउनुभएको छ ।
सोमबार भरतपुर अस्पतालमा ल्याएका ती पुरुषलाई आइसीयुमा राखेर उपचार गराउँदै गर्दा मंगलबार विहान मृत्यु भएको थियो । अहिले दुबै अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरु क्वारेन्टाइनमा बसेको सम्बन्धित अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया