जर्मनीको औद्योगिक उत्पादनमा १८ प्रतिशतको गिरावट

  जेठ २७, २०७७

बर्लिन, जेठ २६ : जर्मनीको औद्योगिक उत्पादन गत अप्रिल महिनामा १७ दशमलब ९ प्रतिशतले घटेको छ । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीमा कोरोनाभाइरसको महामारीका कारण लकडाउन गरिएपछि औद्योगिक उत्पादनमा व्यापक ह्रास आएको सरकारी तथ्याँकमा उल्लेख छ ।

गत मार्चमा पनि जर्मनीको औद्योगिक उत्पादनमा ८.९ प्रतिशतले ह्रास आएको थियो । सन् १९९१ जनवरीपछि यति ठूलो परिमाणमा औद्योगिक उत्पादनमा पहिलोपटक ह्रास आएको जर्मनीको सरकारी तथ्याँक विभाग डेस्टाटिसले जनाएको छ ।

सन् २०१९ को अप्रिलको तुलनामा भने औद्योगिक उत्पादनमा २५.३ प्रतिशतले कमी आएको छ । विश्लेषकहरुले पूर्वानुमान गरेभन्दा अप्रिल महिनामा औसतमा १६ प्रतिशतले औद्योगिक उत्पादनमा ह्रास आएको हो ।

सवारी साधनको उत्पादनमा ७४.६ प्रतिशत घटेको भए पनि निर्माण क्षेत्रमा भने निकै सुधार भएको छ । यस क्षेत्रमा केवल ४.१ प्रतिशतले ह्रास आएको छ ।

विश्वभर कोरोनाभाइरसको महामारीका कारण ठूलो आर्थिक क्षति पुगेको छ तर जर्मनीले आफ्ना समकक्षी मुलुकको तुलनामा निकै प्रगति गरेको छ । यस वर्षको पहिला तीन महिनामा कूल आर्थिक उत्पादनमा २.२ प्रतिशतले मात्र ह्रास आएको अधिकारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया