केपी शर्मा ओालीद्वारा रचित गीतिसङ्ग्रह विमोचित

  जेठ २५, २०७७

काठमाडौं, जेठ २५ : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित राष्ट्रिय भावनाले प्रेरित गीति सङ्ग्रह ‘समृद्ध नेपाल सुखी नेपाली’ श्रोतामाझ आएको छ ।

भक्तपुरको नयाँ ठिमीस्थित कमेरुटारमा अनाथ बालबालिका तथा मजदुरका लागि दिवा खानासहित आयोजना गरिएको कार्यक्रममा सडक मजदुर मुक्ता कार्की र सानुकाजी तामाङले एल्बम विमोचन गर्नुभएको हो ।

‘प्रधानमन्त्रीको गीत विमोचन गर्न हामीजस्ता सडक मजदुरलाई बोलाउनु हाम्रो लागि ठुलो भाग्य हो’, मुक्ता कार्कीले भन्नुभयो ।

एल्बम विमोचन समारोहमा गायक बद्री पंगेनी, गायिका मेलिना राई, संगीतकार शान्तिराम राईले देश र जनताप्रति समर्पित गीत गाउन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

अनामनगरस्थित एक्सन स्टुडियोमा रेकर्ड गरिएका पाँच गीतमध्ये प्रधानमन्त्री ओलीद्धारा रचित ‘स्वदेशमै रोजगारी स्वदेशमै बास’बोलको गीतमा मेलिना राई र शान्तिराम राईले स्वर दिनुभएको छ ।

त्यस्तै राष्ट्रिय युवा संघका सहसंयोजक रमेश पौडेलका ‘हेर हाम्रो हिमाल हाँसेको’ र ‘मुर्झिएका सपनाहरु’ गरी दुई र विपिन किरणका ‘सबै मिले देश विकासमा’ र ‘कालसँग लडौं’ गरी दुई गीत रहेका छन् ।

शान्तिराम राईको एकल संगीत रहेको एल्बममा राजेशपायल राई, बद्री पंगेनी, मेलिना राई, पार्वती राई, कला राईलगायतले स्वर दिनुभएको छ ।

तपाईको प्रतिक्रिया