वीरगञ्ज, जेठ २५ : चैत ११ गते लकडाउन भएदेखि बन्द रहेको वीरगञ्ज बजार स्थानीय प्रशासन तथा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार २३ गतेदेखि जोर बिजोर दिनमा बजार खुलाइए पनि २५ गते आइतबारबाट फेरि खुलेको बजार बन्द भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले एक सूचना जारी गर्नु हुँदै सङ्क्रमणको जोखिम बढेकाले अत्यावश्यकबाहेक अन्य पसलहरू खोल्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन आग्रह गर्नुभएकाले खुलेको वीरगञ्ज बजार फेरि बन्द भएको हो ।
जेठ २३, २४ र २५ गते केही घण्टा खुलेका वीरगञ्ज बजारका पसलहरू स्थानीय प्रशासनको निर्णयसँगै प्रहरीले बन्द गराएको छ । बजारको पसलहरू खुलेपछि सामान्य जस्तै देखिएको जनजीवन पुनः बजार बन्द भएपछि फेरि बन्दाबन्दीको अवस्था आएको छ ।
जेठ २१ गते बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जोर बिजोर दिन गरी आलो पालो बजारका पसलहरू खोल्ने समय तालिका सार्वजनिक गर्दै बजार खोलेको भए पनि तोकिएको मापदण्ड तथा सुरक्षा व्यवस्था नदेखिएपछि सङ्क्रमणको जोखिम बढेकाले जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको जेठ २३ गते साँझ बसेको बैठकले अत्यावश्यकबाहेक सम्पूर्ण पसलहरू बन्द गर्ने निर्णय गरेको जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
जेष्ठ २३ गतेबाट जोर दिनमा रेडिमेट, कपडा, कस्मेटिक, ईलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र बिजोर दिनमा हार्डवेयर, साईकल, मोटर पार्टस्, अटो वक्र्स, भाँडावर्तन, सुनचाँदी, फर्निचरलगायत पसलहरू बिहान ११ बजेदेखि ४ बजेसम्म खुलेका थिए ।
बजारमा पसलहरू खुलेपछि सर्वसाधारणहरूलाई अति आवश्यक लत्ताकपडा, भाँडाकुडालगायत अन्य आवश्यक सामग्रीहरू खरिद गर्न सहज भएको थियो । पसल खोल्दा अपनाइनुपर्ने सुरक्षा व्यवस्था व्यवसायीहरूबाट नअपनाइएको तथा धेरै सर्वसाधारणहरूले बजारमा घुईंचो बढेपछि सङ्क्रमणको जोखिम बढेकाले स्थानीय प्रशासनले फेरि बजार बन्द गर्ने निर्णय गरेको हो ।