कास्की, जेठ २५ : वैकल्पिक फुटबल मैदानको रूपमा विकास गर्ने गरी काम शुरु गरिएको पोखरा महानगरपालिका–१९ लामाचौरस्थित गोस्तेघाट फुटबल मैदानमा प्यारापिट निर्माण शुरु गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले चालू आर्थिक वर्षमा विनियोजन गरेको रु एक करोड बजेटबाट सो मैदानमा प्यारापिटको स्ट्रक्चरको काम हाल भइरहेको हो ।
कोभिड–१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीकै अवधिमा प्यारापिट ढलानको काम भइरहेको लामाचौर खेलमैदान निर्माण समितिका अध्यक्ष सुरेन्द्रमानसिंह भण्डारीले जानकारी दिनुभयो । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको सक्रियतामा स्थानीयस्तरमा सुविधासम्पन्न फुटबल मैदान निर्माण गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित विसं २०७३ देखि सेतीनदी किनारमा अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदानसहितको खेल संरचना निर्माण शुरु गरिएको थियो ।
मैदानमा दुबो रोप्ने तथा चार हजार दर्शक क्षमताको नेचुरल (प्राकृतिक) प्यारापिट निर्माणलगायतका काम सम्पन्न भएर हाल मैदान खेल्न योग्य बनाइएको छ । चालू वर्षमा राखेपको रु एक करोड र पोखरा महानगरपालिकाले साग लक्षित कार्यक्रमअन्तर्गत विनियोजन गरेको रु ५० लाख बजेटबाट प्यारापिट र मैदानमा दुबो रोप्ने काम गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । निर्माणाधीन भीआइपी प्यारापिट एक हजार दर्शक क्षमताको छ ।
खेलाडी चेन्जिङ रुम (कपडा फेर्ने कोठा), सभाहल, शौचालयलगायतका बाँकी पूर्वाधार निर्माणका लागि बजेट माग गरिएको समितिका सचिव बुद्धिबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालय भवन, इण्डोर हल र तटबन्धनसहितका बाँकी कामका लागि रु एक करोड बजेट आवश्यक पर्नेछ । “हामीले फुटबल एकेडेमी नै निर्माण गर्ने योजनाअनुसार अघि बढेका छौँ । मैदान, प्यारापिटको संरचनालगायतका काम चालू वर्षमा बन्नेछन्”, सचिव खत्रीले भन्नुभयो, “प्यारापिट फिनिसिङलगायत चेञ्जिङ रुम, शौचालयलगायतका अन्य बाँकी काम आगामी वर्षमा सम्पन्न गर्नेछौँ ।”
राखेपले सो फुटबल मैदान निर्माणका लागि हालसम्म रु दुई करोड ८० लाख बजेट पठाएको छ । आर्थिक वर्ष २०७४-७५ सम्म रु एक करोड ३० लाख, अघिल्लो वर्ष रु ५० लाख तथा चालू वर्षमा रु एक करोड राखेपले लगानी गरेको छ । त्यसैगरी पोखरा महानगरपालिका, सांसद विकास कोष तथा साविक लामाचौर गाविस तथा स्थानीय स्रोत उपयोगलगायतबाट गरी सो खेलमैदानका लागि रु चार करोड हाराहारीमा खर्च भएको निर्माण समितिले जनाएको छ ।