सुर्खेत, जेठ २२ : पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको हो । उहाँ यही जेठ ९ गते भारतको मुम्बइबाट आउनुभएको थियो ।
बुधबार साढे ४ बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो । नगरप्रमुख उपेन्द्रबहादुर थापाले स्वाब सङ्कलनका लागि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ खटिसकेको जानकारी दिनुभयो । स्वाब परीक्षणको नतिजापछि मात्रै शव दाहसंस्कारको टुङ्गो लाग्नेछ ।
इलाका प्रहरी कार्यालय बाबियाचौरका इञ्चार्ज प्रहरी निरीक्षक असरफ अलि अन्सारीका अनुसार राति १२ बजेतिर घर पुगेका ती युवकको बिहान सवा २ बजेतिर मृत्यु भएको हो । ती युवालाई घरदेखि ४०० मिटरको दूरीमा मौरीपालनका लागि निर्माण गरिएको घरमा होम क्वारेन्टिनका रुपमा बसालिएको थियो ।
वडा नं १ का अध्यक्ष धनबहादुर थापाले बिहान २ बजे बिरामी भएको खबर आएको र त्यहाँ पुग्दा मृत्यु भइसकेको बताउनुभयो । खाना खाएर सुतेपछि एक्कासि घाँटी घ्यारघ्यार भएको १५ मिनेटमै मृत्यु भएको सँगै भएका साथिहरूले जानकारी गराएको उहाँले जानकारी दिनुभयो ।
उहाँले युवाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर वीरेन्द्रनगरमा परीक्षणका लागि पठाउने तयारी भएको जानकारी दिनुभयो । पीसीआर रिपाेर्ट आएपछि मात्रै के कारणले मृत्यु भएको हो भनेर खुल्ने उहाँले बताउनुभयो ।