‘हटस्पट’मा हट्दै त्रास

  जेठ २२, २०७७

बुटवल, जेठ २२ : संभावित जोखिमलाई ध्यानमा राख्दै प्रदेश ५ सरकारले कोरोना सङ्क्रमित व्यक्तिका शव व्यवस्थापन गर्न नयाँ रणनीति बनाएको छ । त्यसका लागि प्रदेश ५ सरकारले दुईवटा शवबाहन किन्ने तयारी गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीका अनुसार सङ्क्रमितको शव उठाउन समस्या देखिएकाले तत्काल व्यवस्थापन हुने गरी शवबाहन किन्ने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले बाँकेमा नेपालगञ्ज उपमहानगरले चलाउने गरी र दाङमा तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्ने गरी १५-१५ लाख रुपियाँ अनुदान दिने निर्णय गरेको हो । यसअघि कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थानमा अन्योल उत्पन्न भएको थियो । यस्ता शव सुरक्षापूर्ण तरिकाले व्यवस्थापन गर्नुपर्ने विश्वव्यापी मान्यता छ ।

यसैबीच कोरोना हटस्पटका रूपमा चिनिएको बाँकेको नरैनापुरमा क्रमशः त्रास कम हँुदै गएको छ भने भैरहवास्थित भीम अस्पतालमा थप २५ जना नयाँ सङ्क्रमित भर्ना भएका छन् । प्रदेशका अन्य जिल्लामा उपचार, सचेतनाजस्ता कोरोना केन्द्रित गतिविधि जारी छन् ।

रोकियो सङ्क्रमित थपिने क्रम
नेपालगञ्ज र बाँके समाचारदाताका अनुसार कोरोना हटस्पट बनेको नरैनापुर गाउँपालिकाको अवस्था अहिले सामान्य बन्दै गएको छ । सङ्क्रमित थपिने क्रम रोकिएपछि सो क्षेत्रको अवस्था सामान्य बन्दै गएकोले स्थानीयमा देखिएको डरत्रास पनि धेरै हदसम्म घटेको गाउँपालिकाले जनाएको छ ।

भारतको मुम्बइबाट फर्किएकाहरूलाई क्वारेन्टाइनमा राखिए पनि अव्यवस्थित क्वारेन्टाइनका कारण त्यहाँ भित्रबाटै धेरैलाई सङ्क्रमण फैलिएको थियो । त्यहाँ एकै पटक धेरै जना सङ्क्रमित भेटिएपछि व्यवस्थापनको कमजोरीका कारण समुदायमा सङ्क्रमण फैलिने ठूलो सम्भावना देखिएको थियो ।

तर, पछिल्लो समय त्यहाँ चालिएका कदमका कारण सङ्क्रमण थप फैलिन नपाएको र क्वारेन्टाइनको व्यवस्थापनमा पनि सुधार हुँदै गएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार त्यहाँका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका ९७८ जना रहेकोमा कोरोना परीक्षण गरेर ७०९ जनालाई क्वारेन्टाइनबाट घर पठाइएको र अहिले पाँचवटा क्वारेन्टाइनमा १५३ जना मात्र रहेका छन् ।

गाउँपालिकाको अवस्था नियन्त्रण बाहिर गएपछि हरेस खाएर हात उठाएका गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले नयाँ प्रमुख जिल्ला अधिकारी आएपछि नरैनापुर जोगिएको जनाउँदै अब सबै कुरा नियन्त्रणमा आएको बताउनुभयो । उहाँले क्वारेन्टाइनमा रहेका अधिकांश नगेटिभ पाइएपछि घर फर्किएको र आइसोलेसनमा रहेकासमेत निको भएर घर फर्किन थालेकोले स्थानीय बासिन्दाको पनि मनोबल उच्च भएको बताउनुभयो ।

उता, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले नरैनापुरलगायत जिल्लाका सबै स्थानमा रहेका क्वारेन्टाइन र आइसोलेसनमा सुधार ल्याउने कार्य सुरु गरिएपछि अवस्था नियन्त्रणमा आउँदै गएको बताउनुभएको छ ।

सङ्क्रमितको सम्पर्ककाको रिपोर्ट नेगेटिभ
तम्घास समाचारदाताका अनुसार गुल्मीमा मदाने गाउँपालिकाका कोेरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका २३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना सङ्क्रमणका कारण उपचारको क्रममा ज्यान गुमाएका मदाने गाउँपालिका वडा नं ६ पुर्कोट दहका ४१ वर्षीय शिक्षकको उपचारको क्रममा रुपन्देहीको क्रिमसन अस्पतालमा निधन भएको थियो ।

शिक्षकको सम्पर्कमा आएका एक व्यक्तिमा कोरोना सङ्क्रमण भएपश्चात् उहाँको सम्पर्कमा आएका २३ जनाको जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाइएको थियो ।

उनीहरू सबैको रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानीप्रसाद शर्माले जानकारी दिनुभयो । निधन भएका शिक्षकको सम्पर्कमा आएका व्यक्ति कोरोना सङ्क्रमण देखिएको १० दिनमै निको भएर घर फर्किसक्नुभएको छ ।

२५ जना नयाँ सङ्क्रमित भर्ना
भैरहवा समाचारदाताका अनुसार भैरहवास्थित भीम अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालमा कोरोना भाइरस सङ्क्रमित २१ जना पुरुष र चार महिला भर्ना भएका छन् । अस्पतालका प्रवक्ता एवं सूचना अधिकारी गोपाल उपाध्यायका अनुसार सोमबार साँझदेखि बुधबार बिहानसम्म अस्पताल भर्ना हुनेहरूमा रुपन्देहीको सैनामैना नगरपालिका, कोटही गाउँपालिका, मायादेवी गाउँपालिका, कपिलवस्तुको वाणगङ्गा नगरपालिका, बुद्धभूमि नगरपालिका तथा नवलपरासीको सरावल गाउँपालिका तथा रामग्राम नगरपालिकाका रहेका छन् ।

क्वारेन्टाइनमा चाप
प्यूठान समाचारदाताका अनुसार प्यूठानमा एक जना व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका–४ का ५९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर जाँचमा कोरोना देखिएको प्रतिष्ठानले जनाएको छ । सङ्क्रमित व्यक्ति जेठ १३ गते भारतबाट आएका हुन् ।

यसैबीच पछिल्लो समय भारतबाट जिल्ला भित्रिनेको सङ्ख्या बढेसँगै क्वारेन्टाइनमा मानिसको चाप बढेको छ । जसले कोरोनाको जोखिम उच्च बनाउनुको साथै व्यवस्थापनमा समेत समस्या हुन थालेको जनप्रतिनिधिले जनाएका छन् । जिल्लाभर झण्डै छ हजार मानिस भारतलगायत ठाउँबाट जिल्ला भित्रिएका छन् ।

बन्दाबन्दी खुकुलो बनाउन छलफल
बुटवल समाचारदाताका अनुसार लामो समयदेखिको बन्दाबन्दी खोल्न सरकारलाई दबाब परिरहेको बेला यहाँ बन्दाबन्दीको मोडालिटीका विषयमा छलफल सुरु भएको छ । छलफलमा जनप्रतिनिधि, प्रहरी, प्रशासन, व्यावसायिक सङ्घ संस्था तथा प्रतिष्ठानका प्रतिनिधिको सहभागिता रहेको थियो ।

बुटवल उपमहानगरपालिकासहितका नगरपालिकाहरूले अहिलेको बन्दाबन्दीको मोडलका विषयमा छलफल सुरु गरेका हुन् । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको नेतृत्वमा बुधबार भएको छलफलमा लामो समयको बन्दाबन्दीले सबै क्षेत्रलाई प्रभाव परेको ठहर गर्दै यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत छलफल भएको छ । सो अवसरमा बन्दाबन्दीको विद्यमान मोडल र अर्को वैकल्पिक उपायका बारेमा छलफल भएको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

बढे सङ्क्रमित
तानसेन समाचारादाताका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा थप सतर्कता अपनाइएको छ । भारतबाट फर्किएका मानिसमा कोरोना सङ्क्रमण देखिएपछि सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूको टे«सिङ् गर्ने कार्य भइरहेको छ । कोरोना सङ्क्रमित भएका व्यक्तिसँगै सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी स्वाब सङ्कलन गरिएको छ । पाल्पामा हालसम्म सात जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । उता तानसेनस्थित मिसन अस्पतालको आइसोलेनमा उपचाररत पूर्वखोला गापाका एक जना ४० वर्षका पुरुषको निधन भएको छ ।

तपाईको प्रतिक्रिया