काठमाडौँ, जेठ २२ : नियामकको अनुमतिबेगर सेवा सञ्चालन गरेको पाइएपछि दूरसञ्चार सेवा प्रदायक एनसेल कारबाहीमा परेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति नलिई म्याजिक भोइस, वन डे प्याक, लभ डिटेक्सनजस्ता भ्यालु एडेड सर्भिस (भास) सञ्चालन गरेका आधारमा कारबाही अगाडि बढाइएको निर्देशक विजय रोयले जानकारी दिनुभयो । एनसेललाई कारबाही सम्बन्धमा प्राधिकरणको सोमबार बसेको बोर्ड बैठकले निर्णय गरेको हो ।
एनसेलले उल्लेखित सेवा अनुमति प्राप्त ९० दिनभन्दा बढी समय प्रयोग गरेको पुष्टि भएपछि कारबाहीका लागि पत्र काटिएको रोयले जानकारी दिनुभयो । यस्ता भास सेवा सामान्यतः ९० दिनसम्म सञ्चालन गर्न दिइन्छ, उहाँले भन्नुभयो, “एनसेलले त्यसपछि पनि अनुमति नलिई त्यस्तो सेवा सञ्चालन गरिरहेको पाइयो ।”
दूरसञ्चार ऐन २०५३ मा भएको व्यवस्थाअनुसार एनसेललाई नगद जरिवानासहित कारबाहीको पत्र काटिएको उहाँले बताउनुभयो । ऐनको दफा २४ को उपदफा २ मा ‘कुनै व्यक्तिले यसऐन बमोजिम अनुमतिपत्र नलिई वा अनुमतिपत्रमा उल्लेखित सर्तहरूको पालन नगरी दूरसञ्चार सेवा सञ्चालन गरेमा प्राधिकरणले त्यस्तो व्यक्तिलाई पाँच लाख रुपियाँसम्म जरिवाना गरी त्यस्तो काम बन्दसमेत गराउनसक्ने छ’ उल्लेख छ ।
एनसेलले सन् २०१७ मा यस्तो सेवा सुरु गरेको थियो । त्यसको केही समय पनि यसले निरन्तरता पाएपछि उजुरीको आधारमा प्राधिकरणले अध्ययन गरेको थियो । हाल यो सेवा भने बन्द अवस्थामा छ । प्राधिकरणले पछिल्लोपटक एनसेलका प्रयोगकर्ताले अनावश्यक ब्यालेन्स काटिरहेको गुनासो गरेपछि त्यसको पनि अध्ययन सुरु गरेको जनाएको छ । निर्देशक रोयका अनुसार उक्त विषयमा अध्ययन भएर प्रतिवेदन तयारीको क्रममा छ ।
यस्तै प्राधिकरणले अनुमति नलिई इन्टरनेट सेवा परीक्षण गरेको र त्यससम्बन्धी दररेटसमेत सार्वजनिक गरेको भन्दै डिसहोमलाई पनि सचेत गराएको छ । डिसहोमले इन्टरनेट सेवा प्रदायकको अनुमति नलिई इन्टरनेट सञ्चालन परीक्षण गरेको गुनासोका आधारमा प्राधिकरणले अध्ययन गरेको थियो । यद्यपि डिसहोमले अहिले इन्टरनेट सेवा सञ्चालनका लागि प्राधिकरणबाट अनुमति लिइसकेको छ ।