दुई सहायक वन अधिकृत घुस अभियोगमा पक्राउ

  जेठ २१, २०७७

ताप्लेजुङ, जेठ २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई लाख घुससहित ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ रु दुई लाख घुस लिएको अभियोगमा पक्राउ गरिएको हो ।

उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो । सोहीअनुसार अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट रु एक-एक लाख घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइने बताइएको छ । अख्तियारका अनुसार सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमा नै घुस रकमको लेनदेन भएको थियो ।

तपाईको प्रतिक्रिया