सर्लाहीमा थप १० कोरोना सङ्क्रमित

  जेठ १८, २०७७

सर्लाही, जेड १८ : सर्लाहीमा आइतबार थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हरिपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका सात जना र ब्रह्मपुरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका तीन जनामा सङ्क्रमण पुष्टी भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

यी दुवै पालिकामा पहिलो पटक सङ्क्रमित भेटिएका हुन् । सीमाबाट उद्धार गरेर ल्याई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिएकाहरूमा कोरोना सङ्क्रमण पाइएको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभयो ।

हरिपुर नगरपालिकाका सङ्क्रमितमध्ये चार जना रामलगन मावि पिपरीया र तीन जना स्वास्थ्य चौकी फरहदवाको नवनिर्मित भवनमा बस्दैआएका थिए । उनीहरू १०-१२ दिनअघि भारतको मुम्बइ र तमिलनाडुबाट आएका हुन् ।

हरिपुरमा गत मङ्गलबार क्वारेन्टाइनमा बसिरहेका ५० जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामध्ये सात जनामा कोरोना सङ्क्रमण पाइएको नगर प्रमुख जमिरुदिन मन्सुरले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको विभिन्न क्वारेन्टाइनमा अहिले १४९ जनालाई राखिएको छ ।

यस्तै, ब्रह्मपुरी गाउँपालिकाका तीन जना सङ्क्रमित पनि केही दिनपहिले भारतकै मुम्बई र अहमदाबादबाट आएका हुन् । त्यस ठाउँबाट आएर ब्रह्मपुरी गाउँपालिका–१ मा रहेको जलधर कमलदेव नमूना माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसिरहेका दुई जना र ब्रह्मपुरी गाउँपालिका–२, मा रहेको रामविलास प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसिरहेका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष विनोदकुमार साहले जानकारी दिनुभयो ।

गाउँपालिकाले विभिन्न स्थानमा बनाएको क्वारेन्टाइनमा अहिले दुई सय बढीलाई राखिएको छ । आइतबार नै थप १७ जना भारतका विभिन्न स्थानबाट आएका गाउँपालिका अध्यक्ष साहले बताउनुभयो । हरिपुरका सङ्क्रमितलाई फरहदवा स्वास्थ्य चौकीमा आइसोलेसन निर्माण गरी त्यहीँ राख्ने र ब्रह्मपुरीका सङ्क्रमितलाई सदरमुकाम मलङ्गवास्थित नर्सिङ्ग कलेजको आइसोलेसनमा पठाउने तयारी भइरहेको छ ।

आइतबार १० जना सङ्क्रमित थपिएसँगै सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या ७० पुगेको छ । लामो लकडाउनले भारतमा अलपत्र परेकाहरू आउनेक्रम बढेसँगै जिल्लामा कोरोना सङ्क्रमित बढिरहेका छन् । भारतबाट फर्किएकाहरूको सम्बन्धित पालिकाहरूले भीटीएम किटको व्यवस्था गरी धमाधम स्वाब सङ्कलन गराउन थालेका छन् । आइतबार जिल्लाका चन्द्रनगर, रामनगर, मलङ्गवा, विष्णु, ब्रह्मपुरीलगायत स्थानमा स्वाब सङ्कलनको काम भइरहेको छ ।

यसअघि नै सर्लाहीका विभिन्न क्वारेन्टाइनमा बसिरहेका सात सय बढीको स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको र उनीहरूको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय, मलङ्गवाले जनाएको छ ।

तपाईको प्रतिक्रिया