देउखुरी, जेठ १८ : दाङमा क्वारेन्टाइनमा खटिएका दुई जना स्वास्थ्यकर्मीसहित नौ जनामा कोरोना सङ्क्रमण देखिएपछि उपचारको लागि अस्पताल लगिएको छ ।
गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खटिएका दुई जना पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको र उनीहरूलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको गढवा स्वास्थ्य शाखाले जनाएको छ ।
लमही नगरपालिका वडा नं. १ निवासी ४० वर्षीय र राप्ती गाउँपालिका वडा नं. ८ निवासी ३६ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको हो । गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले दुवै स्वास्थ्यकर्मीलाई पहिले देखि नै गढवामै क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
अहिले दुवै स्वास्थ्यकर्मीलाई कोरोना विशेष अस्पतालमा लगिएको छ । यस्तै गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा गढवा–६ निवासी ३६, गढवा–७ निवासी २४ वर्षीय पुरुष व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । दुवै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेकामध्ये रहेको जनाइएको छ ।