पूर्वाधार होइन तत्काल राहत : पर्यटन व्यवसायी

  जेठ १७, २०७७

पोखरा, जेठ १७ : आगामी आव २०७७/७८ का लागि सरकारद्वारा प्रस्तुत गरिएको बजेटबारे पोखराका पर्यटन व्यवसायीले अपेक्षाकृत बजेट आउन नसकेको प्रतिक्रिया दिएका छन् । सरकारले पर्यटन पूर्वाधार विकासका लागि एक अर्ब २६ करोडको बजेट विनियोजन गरे पनि अहिले पूर्वाधार निर्माणको समय नभएको पोखराका पर्यटन व्यवसायीले बताएका हुन् ।

कोभिड १९ ले थला परेको पर्यटन व्यवसायलाई प्रत्यक्ष रूपमा सम्बोधन नगरेको गुनासो छ । अहिले देशभर लकडाउन भए पनि खुलेपछिको केही समयसम्म पनि पर्यटन व्यवसाय सुचारु हुने सम्भावना छैन । बजेटमा १५० अर्बको कोष ल्याइए पनि कुन क्षेत्रलाई के कति र कसरी प्रयोजन गरिन्छ भन्ने बजेटमा प्रस्ट नखुलाइएकाले पर्यटन व्यवसायमा आशा जाग्न नसकेको उनीहरूको भनाइ छ ।

बजेटले प्रमुख पर्यटकीय गन्तव्य पोखराको पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्काउने अपेक्षा गरिए पनि सोको सम्बोधन नभएको यहाँका अग्रज पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य अग्नि कँडेलको भनाइ छ । अर्का अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटन क्षेत्रमा कार्यरत सयौँ मजदुरलाई व्यवस्थित गर्ने कुनै आधार बजेटमा समेटिएको छैन, हामी पर्ख र हेरकै अवस्थामा थियौँ तर यसबारे सम्बोधन भएन । यो बजेटले ठूला व्यवसायीलाई मात्र हे¥योे भन्ने गुनासो उहाँले गर्नुभयो ।

पर्यटन क्षेत्रलाई कोरोना महामारीका कारण कसरी टिकाउने भन्नेमै चिन्ता रहेकाले त्यसबारे सम्बोधन हुन सकेन भन्ने धारणा हानका पूर्वअध्यक्ष भरत पराजुलीको छ । बजेटले निजी क्षेत्रसमेतको सहभागितामा हिमाली तथा पहाडी क्षेत्रमा पर्यटनका सम्भावनासहित पर्यटक आकर्षण गर्ने मौलिक संस्कृतिको विकास र प्रवद्र्धनलाई पनि जोड दिन नसकेको भनाइ उहाँको छ ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले आयकरमा छुट दिएको भए पनि आयकरको अर्थ नरहेको टिप्पणी गर्नुभयो । कमाएपछि मात्र आयकर तिर्नुपर्ने कुरा आउँछ, पर्यटन क्षेत्र चलायमान बनाउनुपर्ने भन्ने दिशातर्फ बजेट उन्मुख हुनुपर्ने थियो तर भएन । उहाँले थप्नुभयो, “कोरोनाको जोखिम समाप्त भएलगत्तै राष्ट्रसेवक कर्मचारी तथा सङ्गठित संस्था र निजी क्षेत्रका कर्मचारीलाई समेत देश दर्शन गर्न प्रोत्साहित गर्ने कार्यक्रम भने प्रशंसनीय रहेको छ ।”

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापाले बजेटले पर्यटन व्यवसायीलाई नछोएको आरोप लगाउँदै बजेटबाट हामी पर्यटन व्यवसायीले ठूलो आशा गरेका थियौँ तर सो अनुरूप आएन ।

प्रस्तुत बजेटमा कोरोना सङ्क्रमण जोखिमका कारण विश्वव्यापी रूपमा आवागमन अवरुद्ध भई पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभावलाई मध्यनजर गरी हवाई सेवा, होटल, ट्राभल, रेस्टुरेन्ट, टे«किङ, पर्वतारोहणलगायतका सेवा क्षेत्रको पुनरुत्थान गर्न कर, शुल्क, ब्याजलगायतमा केही सुविधाको व्यवस्था सकारात्मक रहेको पर्यटनविद् श्रीकान्त खतिवडाको धारणा छ ।

एक प्रदेश एक पर्यटकीय गन्तव्य अवाधारणाअनुसार सबै प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार विकास गरिने, कोरोना जोखिम नियन्त्रणपछि पर्यटन क्षेत्र शीघ्र पुनःस्थापित गर्न पर्वतीय, कृषि, ग्रामीण, जलयात्रा, सांस्कृतिक, मनोरञ्जन, खेल, स्वास्थ्य तथा पर्यापर्यटनलगायत नयाँ पर्यटकीय सेवा विस्तार गर्न आवश्यक पूर्वाधार विकास गरिने पक्ष सन्तोषजनक रहेको प्रतिक्रिया अर्का व्यवसायी प्रेम शर्माको छ । यो बजेट के कसरी कार्यान्वयन हुन्छ र यसले पर्यटन क्षेत्रलाई कसरी सम्बोधन गर्छ त्यो हेर्न बाँकी नै रहेको विचारसमेत पर्यटन व्यवसायीहरूले राखेका छन् । 

तपाईको प्रतिक्रिया