दाङका १५ कोरोना संक्रमितलाई अस्पताल लगियो

  जेठ १५, २०७७

देउखुरी, जेठ १५ : दाङको लमहीस्थित सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको क्वारेन्टाइनमा बसेकामध्ये आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाहरूलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको बताइको छ । बुधबार दाङमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । १५ जना व्यक्ति सबै क्वारेन्टाइनमै बसेकोले समुदायमा कोरोना सङ्क्रमण हुने जोखिम नरहेको सम्बद्ध अधिकारीले जानकारी दिएका छन् ।

लमहीमा कोरोना सङ्क्रमण पुष्टि भएका आठ जना भारतबाट आएका व्यक्ति रहेका छन् । यस्तै घोराहीमा भारतबाट आएका सात जना व्यक्ति रहेको र उनीहरू क्वारेन्टाइनमा बसेका थिए । जेठ ९ गते कृष्णनगर नाका हुँदै एम्बुलेन्समार्फत लमही क्वारेन्टाइनमा आएकामध्ये सात जना व्यक्ति हुन् । अर्का एक जना महिला रहेको र ती महिला दार्जिलिङ बस चढेर लमही आएकी थिइन् । उनी क्वारेन्टाइनमा बसेकी छिन् । घोराहीमा सात र लमहीमा ८ जनामा कोराना सङ्क्रमण पुष्टि भएपछि उनिहरूको ट्राभल हिस्ट्री खोज्न थालिएको लमही क्वारेन्टाइनका प्रमुख लोकराज पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘भारतको हैदरावाद, उत्तरप्रदेश, राजिस्थान, पञ्जाव, दिल्लीबाट आएका व्यक्तिमा कोरोना सङ्क्रमण भएको देखिन्छ, अर्का एक जना भने दार्जिलिङबाट आएको पाइएको छ’ ।
लमही नगरपालिकाले सहिद नेत्रलाल स्मृति प्रतिष्ठानमा बनाएको क्वारेन्टाइनमा ५१ जना छन् । यहाँ बसेकामध्ये आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गरिएको पिसिआर जाँचमा आठ जनामा कोरोना पुष्टि भएको छ । यसअघि दाङका तीन जनामा कोरोना सङ्क्रमण देखिएको थियो । जिल्लामा सङ्क्रमितको सङ्ख्या १८ पुगेको छ। लमही नगरपालिका वडा नम्बर १ निवासी २६ वर्षीय पुरुष, वडा नम्बर २ निवासी १७ वर्षीय पुरुष र ३० वर्षीय पुरुष, वडा नम्बर ४ निवासी २६ वर्षीय पुरुष, वडा नम्बर ५ निवासी २० वर्षीय पुरुष र २० वर्षीया महिला गरी दुईजनामा कोरोना पुष्टि भएको छ ।

वडा नम्बर ६ निवासी १८ वर्षीय पुरुष र लमही नगरपालिका वडा नम्बर ८ निवासी २३ वर्षीय पुरुष गरी जम्मा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यस्तै घोराही उपमहाननगरपालिका – १० का तीन जना वर्ष २४, ४०, ४० वर्षका पुरुष र वडा नम्बर १८ का चार जना रहेका छन् । उनीहरू २४, २५, ४०, ४२ वर्षका पुरुष हुन् ।

तपाईको प्रतिक्रिया