सर्वाङ्गीण विकासमा अग्रसर हुन आग्रह

  जेठ १५, २०७७

काठमाडौँ, जेठ १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वान गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक बधाई एवं सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति भण्डारीले सो आह्वान गर्नुभएको हो ।

सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, “आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ।”

सदाकाल स्वाधीन राष्ट्रका रूपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पु¥याउने पूर्वजहरूको योगदानको स्मरण गर्नुहुँदै राष्ट्रपतिले पूर्वजहरूको स्वाभिमान, वीरता र आदर्शबाट अनुपे्ररित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन हार्दिक आह्वान पनि गर्नुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमणमा परी स्वदेश तथा विदेशमा आफ्नो अमूल्य जीवन गुमाउने सबै नेपालीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुुँदै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । साथै, उहाँले सङ्क्रमित बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “आजको यस ऐतिहासिक दिवसले सबै नेपालीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छासहित पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

थप गौरव गर्ने वातावरण : उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले कोभिड–१९ नियन्त्रणका लागि तीन तहको सरकारले गरिरहेको कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले गर्दै आएको प्रयासलाई अझै प्रभावकारी बनाउँदै लैजान आग्रह गर्नुभएको छ ।

“गणतन्त्र प्राप्तिका लागि हामीले जसरी एकताबद्ध भएर सङ्घर्ष ग-यौँ, हाम्रो भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रियताको रक्षा र सुदृढीकरणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्नेछ,” उपराष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ, “गणतन्त्र दिवस–२०७७ ले हाम्रो राष्ट्रियताको रक्षा तथा सुदृढीकरण र कोरोना भाइरस रोकथामका लागि राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास लिएको छु ।”

तपाईको प्रतिक्रिया