सिरहा, जेठ १४ : जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रहरी उपरिक्षक चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना संक्रमण भएको पुष्टि सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले गर्नुभएको हो ।
संक्रमणको पुष्टि भएलगत्तै दुवै जनालाई सिरहा जिल्ला अस्पतालमा आइसोलेसनमा राखिएको छ ।अङ्गरक्षक र चालकको पिसिआर टेष्ट पोजिटिभ पाइएपछि प्रहरी उपरिक्षक चतुर्वेदी पनि सेल्फ क्वारेन्टाइनमा बस्न थाल्नुभएको प्रजिअ गुरागाईंले जानकारी दिनुभयो ।
गत जेठ ५, ६ र ७ गते सिरहाको चोहर्वास्थित बहादुर श्री शेर गणमा दुवै जनाको स्वाब सङ्कलन गरिएको थियो । गणमा स्वाब सङ्कलन गरिएका गणपतिसहित अन्य सुरक्षा अधिकृत तथा सुरक्षाकर्मीको पिसिआर टेष्ट भने नेगेटिभ आएको छ ।
‘अझ पनि धेरै जनाको टेष्टको प्रतिवेदन आउन बाँकी नै छ’, प्रजिअ गुरागाईंले भन्नुभयो–अब अहिलेलाई संक्रमित भएकाहरुको नजिकका सुरक्षाकर्मीहरुलाई अलग्याएर बाँकीलाई सुरक्षा गतिविधिमा खटाइने छ ।
सिरहामा यो सँगै अहिलेसम्म कोरोना संक्रमण भएकाको सँख्या ८ पुगेको छ । कोरोना संक्रमितहरु बढ्दै गएपछि मङ्गलबार नै प्रमुख जिल्ला अधिकारी गुरागाईं, प्रहरी उपरिक्षक चतुर्वेदी सहित अधिकांश सुरक्षा अधिकृतहरुको पिसिआर परिक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।