कपिलवस्तुमा १३ वर्षीया बालिका बलात्कृत, स्याङ्जामा आरोपी पक्राउ

  जेठ १४, २०७७

कपिलवस्तु, जेठ १४ : महाराजगञ्ज नगरपालिका–२ उनवलियाकी १३ वर्षकी बालिका बलात्कृत भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ ।

नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गए राति किशोरीलाई जबर्जस्ती तानेर घरको पछाडि पु-याई सो हर्कत गरेको आरोप लगाइएको छ । राति परिवारले बालिकालाई बेहोशावस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो ।

अभियुक्त लोहारको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो । पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।

बलात्कारको आरोपमा पक्राउ
स्याङ्जामा एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले युवतीले लामो समयसम्म महिनावारी नभएको र पेट बढ्दै गएपछि गर्भ रहेको थाहा पाएको भन्दै प्रहरीमा उजुरी दिएको बताउनुभयो । बलात्कारको आरोप लागेका पुरुष र युवती नाता सम्बन्धले दाजु बहिनी पर्ने र आरोपित पुरुषलाई जिल्ला अदलातबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

तपाईको प्रतिक्रिया