सङ्क्रमितसँगै ६०१ जना भारतबाट आएका थिए

  जेठ १४, २०७७

दैलेख, जेठ १४ : दैलेखमा कोरोना भाइरसबाट सङ्क्रमितहरू आठजना पुगेका छन् । कोरोना सङ्क्रमित उनीहरू भारतका विभिन्न सहरबाट नेपाल आएका हुन् । उनीहरूलाई शुक्रबार नारायण नगरपालिकाले नेपालगञ्जको रुपैडिहा नाकाबाट उद्धार गरी ल्याएको थियो । उनीहरूका साथ ६०१ जना आएका थिए ।

बन्दाबन्दीको समयमा चार हजार बासिन्दा जिल्ला भित्रिएका छन् । जिल्ला प्रशासनले दिएको जानकारीअनुसार दैनिक दुई सयदेखि एक हजारजनासम्म भित्रिने गरेका छन् । स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी थिरप्रसाद रेग्मीले स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राखेका एक हजार तीन सयजनाको आरडीटी परीक्षण र ४८९ जनाको स्वाव सङ्कलन गरिएको जानकारी दिनुभयो ।

भारत सरकारले रेलसेवा सञ्चालन गरी नेपालका नाकाहरूमा ल्याएर नेपालीलाई छोड्ने रणनीतिका कारण अहिले कर्णालीका स्थानीय तह समस्यामा परेका छन् । २० वर्षभन्दा बढी समयदेखि भारतमा परिवारसहित बसेकाहरू समेत नेपाल फर्कन थालेका छन् ।

नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले कोरोनाको महामारीका कारण भारतबाट धेरै नागरिक आइरहेको बताउँदै उनीहरूको उद्धारसँगै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन लागेको बताउनुभयो ।

किरिया बस्न पाएनन्
यसैबीच जुम्ला समाचारदाताका अनुसार वैशाख ३ गते आमा गुमाउनुभएका दिलबहादुर रोकाया बन्दाबन्दीका कारण घर पुग्न पाउनुभएको छैन । भारतको अयोध्यामा रहँदा आमा बाँचुकलाको निधन भएको खबर पाएपछि घर आउन निकै छटपटाउनुभएका दिलबहादुर यतिबेला जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा बनाइएको क्वारेन्टाइनमा हुनुहुन्छ । एक्लो छोरा दिलबहादुर किरिया बस्न नपाए पनि सेतो पहिरन लगाएर क्वारेन्टाइनमा रहनुभएको छ ।

भारतमा बन्दाबन्दी लम्बिएपछि अयोध्याबाट उहाँले पैदल यात्रा थाल्नुभयो । भोकभोकै दुई दिन हिँडिसकेपछि एउटा ट्रक फेलाप¥यो र त्यसमा बसेर नेपालगन्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा आइपुग्नुभयो । त्यहाँ राख्न नसकिने भन्दै पुनः ट्रकले बाबागञ्जमा लग्यो र क्वारेन्टाइनमा लगेर राख्यो । ‘जेठ १ गते राति १० बजे साढे दुई सय नेपालीलाई जमुनाह नाकामा ल्याइयो । राति भोकभोकै अलपत्र रहनुप¥यो’ हिमा गाउँपालिकानिवासी उहाँले भन्नुभयो, ‘भोलिपल्ट बाँकेका प्रमुख जिल्ला अधिकारीले कडा सुरक्षा व्यवस्था गरिदिएर अलपत्र परेकाहरूलाई उद्धार गरियो । ’

तपाईको प्रतिक्रिया