हेटौँडा, जेठ १३ : बाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को अधिकांश लगानी स्वस्थ जीवनको निर्माण र उत्पादनशील क्षेत्रमा गर्ने भएको छ ।
कोभिड–१९ का कारण आगामी दिनमा आम नागरिकको जीवन निर्वाहमा थप कठिनाइ ल्याउने भन्दै प्रदेश सरकारले कोभिड–१९ ले ल्याएको चुनौतीहरूको सामना गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको जनाएको छ ।
बाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईंले सोमबार प्रदेश सभाको बैठकलाई सम्बाेधन गर्दै प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक–निजी–सहकारीको माध्यमबाट तीव्र आर्थिक वृद्धि हासिल गर्दै दीगो आर्थिक विकासको लक्ष्य प्राप्त गर्ने उल्लेख छ ।
प्रभावकारी रोजगारीका अवसरहरू सिर्जना गरी उर्जाशील जनशक्तिलाई प्रदेश भित्रै टिकाउने, आर्थिक असमानता घटाउने, चुस्त प्रशासन र वित्तीय सुशासनको उपयुक्त रणनीतिका माध्यमबाट प्रभावकारी सुशासन कायम गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको आधारशीला तयार गर्न प्रदेश सरकार दृढ सङ्कल्पित रहेको नीति तथा कार्यक्रममा भनिएको छ ।
प्रदेश सरकारको कार्यलाई पारदर्शी नतिजामूलक एवम् उपलब्धिमा आधारित बनाउन सबै तहका कार्यालय प्रमुखसँग कार्य सम्पादन करार, सुशासन अध्ययन केन्द्रको निर्माण, प्रदेश सरकार–शिक्षालय सहकार्य कार्यक्रम सञ्चालन र नवप्रवर्तन एवम् सृजनशील उद्यमशीलतालाई प्रोत्साहन गर्न नवप्रवर्तन कोष स्थापना गरिने भएको छ ।
कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार तथा राहत र उद्धारका कार्यमा प्रदेश, सङ्घीय र स्थानीय सरकारबीचको समन्वय र सहकार्यलाई निरन्तरता दिइने भएको छ । बन्दाबन्दीलाई प्रभावकारी बनाउन प्रदेशभित्र प्रवेश नाकाहरूमा सूक्ष्म निगरानी र प्रारम्भिक स्वास्थ्य परीक्षण, स्थानीय तहमार्फत राहत र उद्धार कार्यका लागि बजेटको व्यवस्था, अतिरिक्त स्रोत परिचालनका लागि कोषको स्थापना र सञ्चालन, स्वास्थ्य सामग्रीको आपूर्ति व्यवस्थापन र वितरण गर्ने प्रदेश सभालाई सम्बाेधन गर्दै प्रदेश प्रमुख प्रसाईंले बताउनुभयो ।
कोभिड–१९ का कारण सिर्जना भएको असहज परिस्थितिबाट विपन्न नागरिकको जीवनमा पर्नसक्ने असरलाई सम्बोधन गर्न स्थानीय तहसँगको सहकार्यमा विशेष कार्यक्रम प्रदेश सरकारले आगामी आथिक वर्षमा सञ्चालन गर्ने भएको छ ।