भैरहवा, जेठ १३ : ढुवानीमा जिल्ला जिल्लाबीच समन्वय नहुँदा सिमेन्ट उद्योगमा कच्चा पदार्थको अभाव हुन थालेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ चुनढुङ्गा, क्लिङ्करजस्ता पदार्थको अभाव भएको उद्योगीले बताएका छन् ।
विशेष गरी ढुवानी अवरोधका कारण उद्योगलाई चाहिने चुनढुङ्गा र क्लिङ्कर उद्योगसम्म पुग्न सकेको छैन । केही दिनअघि सरकारले सिमेन्ट उद्योगलाई अत्यावश्यक उद्योगको सूचीमा राख्दै सञ्चालन गर्न अनुमति दिए पनि कोरोनाको बढ्दो सङ्क्रमणको त्रास र बन्दाबन्दीमा कच्चा पदार्थ ढुवानीमा समस्या आएको हो ।
यो समय उद्योग नियमित सञ्चालन मात्र नभई आगामी असोजसम्मका लागि आवश्यक कच्चा पदार्थ सङ्कलन गर्ने समय भएको सिमेन्ट उद्योगहरूको छाता सङ्गठन सिमेन्ट उत्पादक सङ्घ रुपन्देहीका अध्यक्ष ऋषिकेश अग्रवालले बताउनुभयो । पूर्णतया कच्चा पदार्थ, मजदुर र ढुवानीमा निर्भर सिमेन्ट उद्योग लामो समयको बन्दले आगामी दिनमा झनै समस्यामा पर्ने उहाँले बताउनुभयो । “बन्दाबन्दी खुलेपछि भारतबाट कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था आएको छ, यसबाट लागत वृद्धिसँगै सिमेन्टको मूल्यवृद्धि हुने देखिन्छ,” अग्रवालले भन्नुभयो ।
क्लिङ्कर र सिमेन्ट दुवै उत्पादन गर्ने अर्घाखाँची सिमेन्ट उद्योग प्रालिका सञ्चालक राजेश अग्रवालले बन्दाबन्दीकै दौरान सरकारले उद्योग सञ्चालन गर्न सूचित गरे पनि जिल्ला जिल्लाका स्थानीय तह र प्रहरी प्रशासनबीच आपसी तालमेल नहुँदा ढुवानी हुन नसकेको बताउनुभयो । उहाँका अनुसार अर्घाखाँची सिमेन्टले वार्षिक आठ लाख टन क्लिङ्कर उत्पादन गर्दै आएको छ । हाल बन्दाबन्दीका कारण ढुवानी नहुँदा आवश्यक मासिक ७०–८० हजार टनका दरले तीन–चार महिनाको लागि क्लिङ्कर आयात गर्नुपर्ने हुन्छ ।
“क्लिङ्कर उत्पादन गर्ने सबै उद्योगीले क्लिङ्कर आयात गर्नुपर्ने छ । नेपालमा वार्षिक ८० लाख टन सिमेन्ट खपत हुन्छ, यहाँका उद्योगीले हाल करिब सात–आठ लाख टन क्लिङ्कर भारतबाट आयात गर्नुपर्छ । यसबाट अर्बाैं बजेट भारत जान्छ,” उहाँले भन्नुभयो ।
बन्दाबन्दीले सिमेन्ट उद्योग दोहोरो मारमा परेको जगदम्बा सिमेन्ट उद्योगका प्रबन्धक विदुर ढुङ्गानाले बताउनुभयो । “बन्दाबन्दीका कारण एकातर्फ उद्योग सञ्चालन हुन पाएनन्, अर्कोतर्फ पछिको लागि आवश्यक पर्ने कच्चा पदार्थ पनि स्टक गर्न सकिएन, जसले गर्दा सिमेन्ट उद्योगहरू दोहोरो मर्कामा परेका छन्,” उहाँले भन्नुभयो ।
नेपाल अम्बुजा सिमेन्ट उद्योगका सञ्चालक हेमन्तकुमार अग्रवालले समयमा चुनढुङ्गा उद्योगसम्म नपुग्दा भारतबाट आयात गर्न बाध्य हुनुपर्ने बताउनुभयो । “उद्योग तराईमा, कच्चा पदार्थ पहाडमा छ, अबको केही दिन वर्षाका कारण पहाडबाट चुनढुङ्गा ल्याउन मिल्दैन, त्यसैले यस वर्ष भारतबाट आयात गर्नुको विकल्प देखिँदैन,” उहाँले भन्नुभयो ।
रुपन्देहीमा मात्रै एक दर्जनभन्दा बढी सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीन उद्योगले क्लिङ्कर उत्पादन गर्दै आएका छन् । त्यसैगरी देशभर ६० भन्दा बढी सिमेन्ट उद्योग र दर्जनभन्दा बढी क्लिङ्कर उद्योग रहेका छन् ।