काठमाडौं, जेठ १२ : २०३० सालतिर गायक/संगीतकार दीप श्रेष्ठ, गीतकार/संगीतकार विजय श्रेष्ठ र गायिका सुशीला सुब्बा सांगीतिक प्रस्तुतिका लागि दार्जिलिङ पुगेका थिए । दार्जिलिङको गोर्खा दुःख निवारण समितिको भवनमा भव्य कार्यक्रम थियो ।
कागजमा कलमले कोरेर हुँदैन धर्तीको विभाजन
गत पोखी लेख्ने खुकुरी साँची छ
कालापानी हाम्रो हो
नालापानी हाम्रो हो
फैलेको सन्तान हाम्रो हो…
विजयको शब्द र दीपको संगीतमा सुशीलाले सुरुवातमै माथिको पंक्ति गाइन् । उक्त गीत त्यसअघि न रेकर्ड गरिएको थियो, न अभ्यास नै । तर, पनि नेपालीभाषीले खुब रुचाए । भोलिपल्ट पनि सोही गीत गाउने योजना बन्यो ।
राति सुत्नै लागेका थिए, चिनेकै नेपालीभाषीहरू विजयको कोठामा आए । उनीहरूले हड्बडाउँदै भने, ‘तपाईंहरूले आजै राति सीमापार गर्नुपर्ने भयो । हिँडिहाल्औं ।’ एकैछिनमा दीप र सुशीला पनि त्यही आए । दिनभरको गायनले थाकेका उनीहरू हत्तारिँदै निस्कनुपर्यो । ४७ वर्षअघिको त्यो घटनाबारे गीतकार विजय भन्छन्, ‘भारतले अतिक्रमण गरेको भूभाग हाम्रो हो भनेर गाएको थाहा पाएपछि पश्चिम बंगाल सरकारले हामीविरुद्ध वारेन्ट जारी गरेछ । पक्रने डरले नेपाली साथीहरूले राति नै हामीलाई सीमा कटाइदिनुभयो ।’
गीतको सुरुवाती पंक्ति यस्तो थियो :
पारीको जीवन नेपाली भाषा, भालेको डाँकमा फक्रेको गुराँस
त्यही डाँडाकाँडा खोलाको बारी, यताको नेपाल उताको प्रवास
पुर्खाले हामीलाई बोकेको नाम्लो, नेपाली साइनो बाँधेको दाम्लो
अजम्बरी माया हो, त्यो क्षितिजले धर्तीलाई घेरेको जस्तो…
दार्जिलिङ क्षेत्रका नेपालीभाषी आत्मस्वाभिमान र आत्मसम्मानको आन्दोलनमा थिए, त्यतिबेला पनि । नेपाली भाषा, संस्कृतिलाई उधुम माया गर्थे, पछ्याउँथे । गीतमा उनीहरूकै मनोचाहना व्यक्त भएपछि पश्चिम बंगाल सरकारको टाउको दुख्ने भइहाल्यो । विजय भन्छन्, ‘तर, त्यो गीत रेकर्ड गर्ने मेलोमेसो नै मिलेन । त्यहाँका साथीहरूसँग भेट्दा खुब सम्झनुहुन्छ ।’
एकातिर अहिले भारतसँगको सीमा विवाद चर्केको छ, अर्कातिर दार्जिलिङका नेपालीको मनोभावना उस्तै छ, त्यसैले विजयलाई उक्त गीत रेकर्ड गर्न पाए हुन्थ्योजस्तो लागिरहेको छ ।
धेरैले नसुनेको तर सीमा अतिक्रमण र रक्षार्थकै लागि विजयले लेखेको अर्को गीत २०२८ सालतिर रेडियो नेपालमा रेकर्ड भएको थियो-
हरेक कोसी खोला र नालाले नालापानीको रूप लिन्छ
गाउँघर सीमा बस्ती किल्ला-काँगडामा फेरिन्छ
अमरसिंह, बलभद्र हाम्रा करोड-करोड छन्…
यसमा पनि दीपकै संगीत, सुशीला सुब्बाकै आवाज छ । आफ्नो देशको भूभाग जोगाउन खटिएको सेनालाई सम्झेर उनकी अर्धागिंनीले यो गीत गाएकी हुन्छिन्, अन्तरा अझ मार्मिक छ-
यो सुन चुरा फलाम किन्न गलाएकी छु
कालो दाल र भटमास साँची बारुद पठाएकी छु
बिजोग परे त्यो ठाउँलाई म पनि आउनेछु…
विजयका अनुसार, पहिले-पहिले जब भारतले हेप्थ्यो, नाकाबन्दी गर्थ्यो, सीमा अतिक्रमण हुन्थ्यो, यो गीत रेडियो नेपालमा बज्थ्यो । आजकल खासै सुन्न पाइएको छैन । भन्छन्, ‘यसको मास्टर कपी मसँग छ, रि-रेकर्ड गराउने सुरमा छु ।’
विजयले नै लेखेको ‘माछी मार्न जाउँ न दाजै कालापानीमा…’ गीत नसुन्ने को होला र १ यसमा संगीत पनि विजयकै छ । स्वरचाहिँ उनका छोरा विधान श्रेष्ठको । विजयले प्रतीकात्मक तर सशक्त शैलीमा कालापानी र महाकाली नेपालको हो भन्ने भाव व्यक्त गरेका छन् । लोकलयमा आधारित यस गीतमा विधानको आवाज उत्तिकै सुमधुर छ । विधान अगाडि गाउँछन्-
मनको काँडाले कहिल्यै नि कोरेन, फलामे काँडाको तारैले
मनपरी हैन गाँठे, हाम्रो पानीमा
आलै छ घाउ अठारको, नालापानीमा…
यहाँ अठार भन्नाले सन् १८१६ मार्च ४ मा तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिलाई इंगित गरिएको हो । जहाँ कालीनदी र त्यहाँभन्दा पूर्वको भाग नेपालको हुने उल्लेख छ । ‘कालापानी हाम्रै हो, महाकाली हाम्रै हो, त्यसैले त्यहाँ माछा मार्न वा जे गर्न पनि हामी स्वतन्त्र छौं, अरूले मनपरी गर्न पाइँदैन भन्न खोजेको छु,’ विजयले भने । यो गीतचाहिँ उनले २०५४ सालमा लेखेका हुन्, रेकर्डचाहिँ त्यसको दुई वर्षपछि भयो । कालापानी विवाद खुब चर्किएको समय थियो त्यो । त्यसअगाडि कालापानीबारे लेखिएको गीत आफूले नसुनेको विजय बताउँछन् ।
गत जेठ ७ गते नेपाल सरकारले सुगौली सन्धिअनुसारै कालीनदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा लागू गरेको छ । अब नेपालको क्षेत्रफलमा करिब ३ सय ३५ वर्गकिलोमिटर थपिएको छ । उक्त क्षेत्रमा भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि नेपालले नयाँ नक्सा जारी गरेको हो । भारतले यसमा कडा असहमति जनाइसकेको छ । यद्यपि कोभिड-१९ को त्रासबीच अतिक्रमित भूभाग फिर्ता ल्याउन नेपाली एकताबद्ध छन्, भारतसँग कूटनीतिक संवादका लागि सरकार प्रयासरत छ ।
सुन्दा दुःख र अचम्म लाग्न सक्छ तर सत्य हो कि, नेपालको नयाँ नक्सामा अटाएको यही कालापानी हाम्रो हो भनेर विजयले लेखेको माथिको गीत कुनै समयमा नेपालमै ‘अघोषित प्रतिबन्ध’ थियो । गायक विधानका अनुसार गीतको भिडियो बनाएपछि नेपाल टेलिभिजनमा प्रसारण भयो । केही समयपछि बज्न छोड्यो । अरू दुई/तीन टेलिभिजन च्यानल पनि खुले । विधानले सबैतिर भिडियो बुझाए । तर, कहीं प्रसारण हुँदैन्थ्यो । ‘मैले सोध्दा बज्छ-बज्छ भन्थे तर बजाउँदै बजाएनन् । आलटाल गरिरहे,’ विजयले भने, ‘आधाकारिक रूपमा थाहा भएन । तर, कहींबाट दबाब आएकाले नबजाएको भन्ने सुन्थें त्यतिबेला । धाउँदा-धाउँदा हैरान भएपछि मैले पनि वास्ता गर्न छोडें ।’
गुमनाम भइसकेको यो गीत दोस्रो जनआन्दोलन दौरान र त्यसपछि एकाएक चर्चामा आयो । सबैतिर बज्न थाल्यो । यसबाट सहजै अनुमान लगाउन सकिन्छ, यस गीत बन्देज हुनुमा राजनीतिक कारण थियो । गीत बज्न र मान्छेहरूले रुचाउन थालेपछि किन रोकियो भनेर सोधखोज नगरेको गायक विधानले बताए ।
प्रवासी नेपालीको पीडा पोखिएको र बृहत्तर नेपालको गरिमा गाइएको अम्बर गुरुङको ‘नौ लाख तारा उदाए, धर्तीको आकाश हाँसेछ…’ पनि एक समय रेडियो नेपालमा ‘प्रतिबन्ध’ थियो । यो त्यही गीत हो, जसले नेपाली संगीतमा अम्बर गुरुङलाई अमर बनायो अनि उनी दार्जिलिङ छोडेर नेपाल आउनुमा अप्रत्यक्ष रूपमा यसकै भूमिका छ । तर सुरुवाती दिनमा नेपालमै अपमान खेप्नुपर्यो । अम्बर गुरुङका छोरा किशोर गुरुङ भन्छन्, ‘भारतको दबाबमा रेडियो नेपालले बन्देज लगाएको हुनुपर्छ । पछि बुबाले धेरै चरणमा कुरा गरेपछि बल्ल बज्न थाल्यो ।’
किशोरका अनुसार अगमसिंह गिरीले लेखेको यही गीत अम्बरको पहिलो रेकर्डेड गीत हो । यो गीत सन् १९६१ मा कोलकाताको हिन्दुस्तान रेकर्डिङ कम्पनीमा रेकर्ड गरिएको थियो, त्यतिबेला अम्बर २३ वर्षका थिए । उपनिवेशबाट मुक्त भएपछि अंग्रेजले स्वामित्वमा लिएका नेपाली भूमि भारतले फिर्ता त गरेन नै, उल्टै नेपाली र नेपाली भाषा-संस्कृतिमाथि दुव्यर्वहार गर्न थाल्यो । आफ्नो अस्तित्वमाथिको आक्रमणका विरुद्ध अम्बर गुरुङ, अगमसिंहजस्ता युवाहरूले प्रतिरोध गरे । त्यसकै सांगीतिक मोर्चामा खुब घन्किएको थियो, ‘नौ लाख तारा…।’ आन्दोलनको आवाज मुखरित गरेको यस गीतमा हरेक नेपालीभाषीले आफूलाई पाए ।
नसम्झ यहाँ नेपाली सन्चोले यहाँ बाँचेको
काँडाकै माझ पहाडी फूल छैन र कहाँ हाँसेको
सुनको सपनामा आँखामा किन हो बाँधिल्यायौं नि
घरको माया बिर्सेर किन पो यहाँ आयौ नि …
यो गीत समाविष्ट एल्बम एक सातामै ५ सय प्रति बिक्यो, लोकप्रियता बटुल्दै गएपछि अलइन्डिया रेडियोले ‘भारतविरोधी’ भन्दै प्रतिबन्ध लगायो । तैपनि, आन्दोलनका कार्यक्रमहरूमा अम्बरले गाउन छोडेनन् । त्यस्तो मार्मिक र कालजयी गीत रेडियो नेपालमा पनि बन्देज भयो ।
अगमसिंहले लेखेको र अम्बरले गाएको अर्को ऐतिहासिक गीतको चर्चा यहाँ अनिवार्य हुन्छ । गीत जति सशक्त छ, त्यसको भित्री कथा त्यतिकै पीडादायी ।
सुगौली सन्धि हामीले बिर्सेको छैन भनिदेऊ
किल्ला काँगडा हामीले बिर्सेको छैन भनिदेऊ…
किशोरका अनुसार यो गीत ‘नौ लाख तारा…’ प्रतिबन्ध भएकैताका रचना गरिएको थियो । दार्जिलिङको चोकमा नेता र नागरिक उपस्थित भएको कार्यक्रममा अम्बरले गाउँथे । ‘नौ लाख तारामा…’ भन्दा यसमा विद्रोह र असन्तुष्टि ज्यादा झल्कन्छ । सुगौली सन्धिअनुसार भारतले नेपाललाई आफ्नो भूमि फिर्ता नगरेको यर्थाथ घुमाएर होइन, सिधैं व्यक्त गरिएको छ । यही कारण अम्बरले अनेक सास्ती झेल्नुपर्यो ।
दार्जिलिङमा सरकारी जागिरे थिए, उनी । यी दुई गीतमार्फत प्रवासी नेपालीलाई जागरुक बनाएपछि पश्चिम बंगाल सरकार उनीप्रति रुष्ट भयो, उनले नेपाली गीत गाउन नपाउने, बंगाली गाउनुपर्ने उर्दी जारी गर्यो । ‘नेपाली, त्यसमाथि कलाकार, त्यति अपमानित हुनुपर्दा कस्तो भयो होला ? तैपनि हातमुख जोड्नै मुस्किल थियो, त्यसैले बुबाले जागिर छोडिहाल्न सक्नु भएन,’ किशोरले भने । अपमान चुलिँदै गएपछि केही महिनापछि राजीनामा दिए । किशोर भन्छन्, ‘गीतकै कारण बुबा र अगमसिंह गिरीलाई दुई दिन थुनामा राखिएको थियो ।’
दार्जिलिङमा आफूमाथिको ‘तिरस्कार’ र ‘स्वतन्त्रता हनन’ ले अम्बर गुरुङ निराश थिए । त्यहीबेला अर्थात् २०२६ मा राजा महेन्द्रले उनलाई नेपालमै बस्न आग्रह गरे । त्यसयता उनले नेपालमै बसेर संगीत साधनालाई निरन्तरता दिए । नेपालको राष्ट्रिय गान ‘सयौं थुंगा फूलका हामी’ लगायत झन्डै १ हजार गीतमा संगीत दिए । तर, ‘सुगौली सन्धि हामीले…’ कहिल्यै स्टुडियोमा रेकर्ड गरेनन् । यो गीत युट्युबमा पाइन्छ, जुन २०५४ असार ६ गते फ्रान्सेली केन्द्रमा ‘सगरमाथा अम्बर साँझ’ कार्यक्रममा लाइभ गाइएको हो, स्टुडियो रेकर्डेड होइन ।
उक्त कार्यक्रममा गाउन पनि अम्बरले दुईवटा सर्त राखेका थिए । पहिलो, आफू जीवित भएसम्म बजाउन नपाउने । दोस्रो, गीतको बीचमा आफूले केही बोल्ने । दुवै सर्त पूरा भयो । २०७३ जेठ २५ गते उनको देहान्त भयो । त्यसको भोलिपल्ट यो गीत रेडियो सगरमाथाले पहिलो पटक बजायो । अर्थात्, रचना गरिएको झन्डै ५५ वर्षपछि र रेकर्ड गरिएको १९ वर्षपछि मात्र श्रोताले सुन्न पाए-
हामीलाई यस्सै गिज्याई बेलाले केही भन्दै छ
लेका लाख मुटुलाई काँडाले यहाँ
उन्दै छ
नेर केही बुझ्यौ कि पीरले छाती पगाली
धिक्कारिदेला युगले दुर्बल सम्झी नेपाली
सुगौली सन्धि हामीले…
यी पंक्ति गाएपछि अम्बरले भनेका छन्- ‘खै के बुझ्यौ ?’ यो चाहिँ उनले नेपाली नेताहरूलाई भनेका हुन सक्छन् । जसले प्रवासी नेपालीको रोदन अनुभूत गर्दैनन्, आफ्नो भूमी हडप्दा बोल्दैनन्, आफ्नो भाषा-संस्कृतिमाथिको आक्रमणमा मौन बसिदिन्छन् । के भनिन्छ भने, नेताप्रति भरोसा नभएकै कारण अम्बरले आफू बाँचुन्जेल यो गीत सार्वजनिक गर्न चाहेनन् । नेपाली राजनीतिक नेतृत्वको राष्ट्रियता प्रतिको इमानदारितामाथि शंका थियो सायद ।
किशोरचाहिँ दुई देशबीचको सम्बन्धमा असर नपुगोस् भनेर बुबाले गीत बाहिर ल्याउन नचाहेको हुन सक्ने बताउँछन् । ‘पहिले हामी स्वालम्बी हुनुपर्छ, तब मात्र भारतसँग कुरा गर्नुपर्छ भन्नुहुन्थ्यो । त्यसैले बुबाले गीतका कारण भारतसँग वैमनस्यता नआओस् भन्ने चाहेको हुनुपर्छ,’ किशोरले भने । उनी यो गीत रि-रेकर्ड गर्ने योजनामा छन् ।
चाहे विजय श्रेष्ठको ‘माछी मार्न जाउँ न दाजै कालापानीमा…’ होस् वा अम्बर गुरुङको ‘सुगौली सन्धि…’, अतिक्रमित भूमिप्रतिको हक र समर्पण भाव पोखिएको छ । यी गीतमा आफ्नो भूमिमा पराई हुनुपर्दाको पीडा अनुभूत हुन्छ । संगीतकर्मी आभास भन्छन्, ‘नेपालको पुरानो भूभाग सम्झिएर लेखिएका गीतले भूमिप्रतिको प्रेम दर्साएका छन् ।’ स्रोत : इकान्तिपुर अनलाइन