हेटौँडा, जेठ ११ : बाग्मती प्रदेशमा कोभिड -१९ (कोरोना भाइरस) सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । नेपालमा नै पहिलोपटक गत माघ ९ गते पुरुषमा कोरोना सङक्रमित पुष्टि भएको बाग्मती प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३४ पुगेको हो ।
बाग्मती प्रदेशमा आठ हजार १११ जनाको स्वाब आरटी–पीसीआर विधिबाट परीक्षण गरिएकोमा आठ हजार ९९ सय जनाको रिपोर्टको नतिजा नेगेटिभ प्राप्त भएको बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ भने नौ जना उपचारपछि घर फर्किएका छन् । कोरोना सङ्क्रमितमध्ये नेपालमा नै पहिलो पटक बाग्मती प्रदेशको सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको थियो । कोरोना सङ्क्रमित २४ जना उपचाररत छन् ।
रसुवा र दोलखा जिल्लामा हालसम्म कोरोना सङ्क्रमण नभएको पाइएको छ । बाग्मती प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँमा १२, भक्तपुरमा छ र चितवनका चार जनामा कोभिड १९ सङ्क्रमण भएको छ ।
बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड १९ का प्रवक्ता पुरुषोत्तमराज सेढाइँका अनुसार नेपालमा बाहिरबाट आउनेबाट र सङ्क्रमित व्यक्तिबाट स्थानीय तहमा झुण्ड-झुण्डरुपमा कोरोना सङ्क्रमण भएको देखिएको छ ।
प्रदेशमा हालसम्म २२ हजार ८११ जनाको आरडीटी परीक्षण गरिएकोमा ४२९ जनाको रिपोर्ट पोजिटिभ र बाँकीको नेगेटिभ आएको छ । यसैबिच कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा पिसिआर किटलगायत स्वास्थ्य सामग्री अभावमा परीक्षण प्रभावित बन्दैआएको छ ।
पिसिआर परीक्षणका लागि स्वाब सङ्कलनको चापअनुसार तीव्र गतिमा प्रयोगशालामा परीक्षण हुनुपर्नेमा जनशक्ति र किट अभावसँगै विद्युत नियमित नहुँदा रोकिने गरेको एक स्वास्थ्यकर्मीले बताए । प्रयोगशालामा पहिलो पटक आएको पाँच सय पिसिआर किट सकिएपछि यसअघि तीन दिन परीक्षण रोकिएको थियो ।
यस्तै विद्युत आपूर्ति नियमित नभएकै कारण प्रयोगशालामा परीक्षण दुई दिनसम्म हुन सकेन । कोरोना सङ्क्रमण बढ्दोसँगै परीक्षणको दायरा बढाएपछि प्रयोगशालामा परीक्षणका लागि स्वाब ल्याउने क्रम बढेको छ । यसैगरी पछिल्लो पटक आएको पाँच सय पीसीआर किट सकिएसँगै परीक्षण शनिबारबाट परीक्षण प्रभावित बनेको छ । प्रवक्ता सेढाइँले प्रयोगशालामा परीक्षणका लागि प्राप्त भएकामध्ये ९६ वटा स्वाब आइतबार भरतपुर परीक्षणका लागि पठाइएको र थप किट आउने क्रममा रहेको बताउनुभयो ।
प्रयोगशालामा शनिबारसम्म एक हजार २४१ स्वाब प्राप्त भएकोमा सिन्धुलीको १५, बाराको १७ र हेटौँडा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी गरी ९० वटामध्ये १२ वटाको परीक्षण गरिएको नतिजा नेगेटिभ आएको थियो । हेटौँडा -४ स्थित आइसोलेससन कक्षबाट आइतबार थप ३४ वटा स्वाब सङ्कलन गरी पठाइएको छ । आइसोलेसन कक्षका ईञ्चार्ज भोला चौलागाइँले भीटीएम किटको अभावमा स्वाब सङ्कलन रोकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एकातर्फ भीटीएम किटको अभावमा स्वाब सङ्कलन प्रभावित हुँदै आएको छ भने अर्कोतर्फ पीसीआर परीक्षणका भएको ढिलाइले आइसोलेसन कक्षकाे चाप बढ्दो छ ।’
मकवानपुरमा भारतका विभिन्न स्थानबाट ल्याइएका ३५ जनामध्ये हाल ३४ जना आइसोलेसनमा रहेका छन् । भारतबाट शनिबार ल्याइएका थाहा नगरपालिकासँगै बकैया, कैलाश, मनहरी गाउँपालिकालाई स्वाब परीक्षणका लागि आइसोलेसन कक्षमा राखिएको छ ।