‘नेपालको अहित चिताउदिनँ, सायद भन्न जानिनँ’

  जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : अभिनेत्री वर्षा राउत यतिखेर ट्रोलको सिकार भएकी छिन् । एक युट्युब च्यानलसँगको अन्तरवार्तामा सीमा विवादबारे उनले दिएको अभिव्यक्तिका कारण उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । अन्तवार्तामा उनले भनेकी थिइन्, ‘दुई देशको झगडामा मेरो भारतीय साथीहरुसँग म कसरी फेस गर्ने ?’

यही अभिव्यक्तिका कारण अहिले वर्षा तनावमा पनि छन् । उनले आफूले कहिल्यै पनि देशविरुद्धमा बोल्न नखोजेको बताएकी छिन् । ‘मेरो भनाई त क्लियर नै छजस्तो लाग्छ । मैले नेपालविरुद्ध केही पनि बोलेको छैन । न हिजो बोलेको थिएँ न आज बोल्छु न भोली,’ कान्तिपुरसँग वर्षाले भनिन्, ‘दुई देश मिलेर राम्रोसँग वार्तालाप गरेर अगाडि जानुपर्छ भनेको थिएँ । मनिषा कोइरालाले पनि त्यही भन्नुभएको थियो ।’

सामाजिक सञ्जालमा खिचातानी गर्नुको सट्टा वार्तालाप गरेर नै अघि बढ्नुपर्ने विचार राख्दा यसरी आलोचना होला भनेर आफूले नसोचेको पनि उनले बताइन् । ‘साथीहरुसँग फेस गर्ने कुरामा मैले नेपाल र भारतको मित्रता त धेरै वर्ष अगाडिदेखिको हो । हाम्रा प्रमाण बलियो छ भनेपछि त झगडा गरेर दुई देशको मित्रतालाई असर पार्न भएन भन्न खोजेको हो,’ उनले भनिन्, ‘सायद जिब्रो चिप्लियो होला । मैले भन्नमा गल्ती गरें होला । मैले जे भन्न खोजेको थिएँ त्यो चाहिँ दर्शकहरुले बुझ्नु भएन ।’

उनले दुई देशका पत्रकारका विषयमा पनि बोलेकी थिइन् । ‘मिडियाको सवालमा चाहिँ मैले सबै मिडियालाई भन्न खोजेको होइन । सिनियर पत्रकारहरुले प्रमाणसहित समाचार लेख्नु भएको छ । तर, कति युट्युबरले चाहिँ नचाहिने हेडलाइन राखेर नराम्रो असर पारिरहेको छ नि,’ उनले भनिन् । आफू कहिले पनि देशको अहित नचिताउने र सामाजिक सञ्जालका ट्रोलले आफूलाई केही फरक नपार्ने उनी बताउँछिन् ।

तपाईको प्रतिक्रिया