पारिश्रमिक नपाएको आंशिक प्राध्यापकको गुनासो

  जेठ ०९, २०७७

काठमाडौँ, जेठ ९ : त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुले नियुक्ति पत्र र सेवासुविधा नपाएको गुनासो गरेका छन् ।

लकडाउनको अवधिमा विश्वविद्यालयले सुरु गरेको अनलाइन कक्षामा सहभागी भए पनि पारिश्रमिक नपाएको आंशिक प्राध्यापक संघले जनाएको छ । क्याम्पसले शैक्षिक सत्रको सुरुमै दिनुपर्ने नियुक्ति पत्र नदिएको, नियुक्ति पत्र अभावमा हाजिरीबाट वञ्चित भएको र तलब नपाएको संघले विज्ञप्ति जारी गरेर जनाएको हो ।

क्याम्पसहरुले गत कात्तिकदेखि नै कतिपय आंशिक प्राध्यापकहरुलाई नियुक्ति पत्र नदिएको उनीहरु बताउँछन् । हरेक शैक्षिक सत्रको सुरुमा नियुक्ति पत्र दिने र आंशिक प्राध्यापकलाई काममा लगाउने प्रचलन छ ।

लकडाउनको बेला पारिश्रमिक नपाउँदा कतिपय प्राध्यापक गाँसबासको समस्या भएको पद्मकन्या क्याम्पसकी आंशिक प्राध्यापक सबिता बिमलीले बताइन् । दैनिक ज्यालादारीमा अध्यापन गराउने शिक्षकहरुलाई कोरोना महामारीका बेला शैक्षिक भत्ताको व्यवस्था गर्नसमेत संघले माग गरेको छ ।

राहतको प्याकेज उपलब्ध नगराए शैक्षिक गतिविधिबाट अलग हुने उनीहरुले चेतावनी दिएका छन् । आंशिक प्राध्यापकहरुलाई करार गरिनुपर्ने माग पनि राख्दै आएका छन् । २०७४ को आंशिक प्राध्यापकलाई करार गर्ने मन्त्रिपरिषद्को निर्णय पनि कार्यान्वयन हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया