उपत्यकामा १९ काेराेना संक्रमित, प्रहरी जवानमा संक्रमण भएपछि कालीमाटी सिल

  जेठ ०७, २०७७

काठमाडौँ, जेठ ७ : महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) र जवानमा कोरोना भाइरस संक्रमण देखापरेपछि बुधवार विहानबाट कालिमाटीक्षेत्र सिल गरिएको छ ।

त्यस्तैं, मैतिदेवी बस्दै आएका जुम्ल्याहा दाजुभाइ मध्ये एकजनामा कोरोना संक्रमण देखिएपछि सो क्षेत्र पनि सिल गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार, कालिमाटी वृत्त परिसरमा रहेका महानगरीय ट्राफिक प्रहरी र महिला सेलको कार्यालय पनि सिल गरिएका छन् ।

परिसर प्रमुख श्याम ज्ञवालीले प्रहरी कर्मचारी तथा सर्वसाधारणको स्वास्थ्य सुरक्षा तथा सतर्कताका लागि कार्यालय आसपासको क्षेत्रमा आवतजावत समेत रोक लगाइएको बताउनुभयो । मैतिदेवीमा पनि केही दिनका लागि रोक लगाइएको छ ।

प्रहरी कार्यालयको मुख्य प्रवेशद्धारमा ताला लगाइएको छ, त्यहाँ कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई कार्यालयभित्र सामाजिक दुरी कायम राखी स्वास्थ्य सतर्कता अपनाई उच्च मनोवलका साथ आरामले बस्न आग्रह गरिएको छ ।

उहाँले भन्नुभयो– कालिमाटी प्रहरी वृत्तको क्षेत्रमा आवश्यक शान्तिसुरक्षाकमा लागि जनसेवा, स्वयम्भु र कीर्तिपुरबाट थप सुरक्षा टोली परिचालन गरिएको छ । विहीवारसम्ममा आरटी–पिसिआर परीक्षण हुन्छ होला त्यसपछिको अवस्था के हुन्छ रिपोर्ट आएपछि थाह हुन्छ ।

करीव साढे दुईसय जना सुरक्षाकर्मी कार्यरत कालिमाटी प्रहरी हिरासतमा रहेका एकजना थुनुवालाई भने विहान रिहा गरिएको छ । संक्रमितहरूको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार भइरहेको छ ।

कालीमाटी तरकारी तथा फलफूल वजारबाट सरेको अनुमान
गोरखापत्रसंगको फोन सम्वादमा संक्रमित सईले लक्षण नै नदेखिइ कोरोना देखिएको बताउनुभयो । कालिमाटी तरकारी वजारको भिडभाडबाट कोरोना सरेको अनुमान गरिएको छ । नियमित कोठा गइरहने भएकाले बानेश्वरस्थित आफ्नो परिवार समेत जोखिम रहेको उहाँले बताउनुभएको छ ।

केही दिन कालिमाटी तथा बल्खु लगायतका तरकारी वजारमा सर्वसाधारणको बाक्लो भीड लाग्नुका साथै भारतबाट समेत तरकारी र फुलफूलका गाडी भित्रिन थालेपछि प्रहरीलाई सुरक्षाव्यवस्था र सामाजिक दुरी कायम गराउन धौ–धौ परेको थियो ।

ती सईका अनुसार, डिउटीकै क्रमा कोरोना संक्रमण भएको हो भने अर्का प्रहरी जवानमा भने कसरी संक्रमण देखियो स्वयम् उहाँ नै अन्यौलमा हुनुहुन्छ । मुद्धा शाखामा कार्यरत ती जवानमा पनि भीडबाट नै कोरोना सरेको अनुमान गरिएको छ ।

उपत्यकामा १९ जना संक्रमित
काठमाडौँ उपत्यकामा कोरोना संक्रमितहरूको संख्या १९ पुगेको छ । बन्दाबन्दीको बीचमा पनि तराईका विभिन्न जिल्लाबाट उपत्यकामा प्रवेश गर्नेहरूको संख्या बढेसंगै संक्रमितको संख्या पनि बढेको दावी स्थानीय जनप्रतिनिधिहरूको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार, काठमाडौंँमा १२, भक्तपुरमा पाँच र ललितपुरमा दुईजना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँमा फेला परेका मध्ये चारजना उपचारपछि निको भएर यसअघि नै घर फर्किएका छन् ।

कोरोना संक्रमित सुरक्षाकर्मीको संख्या ११
कोभिड–१९ रोकथाम तथा नियन्त्रणको अगुवाई गर्दै आएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको गरी ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

सेनाका उपरथी सहित दुई, प्रहरीको दुईजना प्रहरी नायव निरीक्षक सहित पाँच, सशस्त्र प्रहरीको तीन र राष्ट्रिय अनुसन्धान विभागको एक गरी ११ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो ।

संक्रमित सुरक्षाकर्मीहरू मध्ये जनकपुरमा दुई, कपिलवस्तुमा चार, काठमाडौँमा चार र बारामा एकजना रहेका छन् । उपरथी सहित केही सुरक्षाकर्मीको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

सशस्त्र प्रहरी अस्पतालका प्रवक्ता प्रहरी उपरीक्षक डा. प्रवीन नेपालका अनुसार, उपचारार्थ भर्ना भएका १४ जना मध्ये तीन महिला र एक बालक रहेका छन् । ती मध्ये पाँचजना सुरक्षाकर्मी रहेका छन् ।

संक्रमित सबैको अवस्था सामान्य रहेको डा. नेपालले बताउनुभयो । कोरोना भाइरसको जटिल लक्षण कसैमा देखिएको छैन, नियमित योग र व्यायम गराउने कार्य भइरहेको छ उहाँले भन्नुभयो–संक्रमित सबैको अवस्था सामान्य छ ।

तपाईको प्रतिक्रिया